शनिबार, चैत ०१, २०८१

नवलपरासीस्थित नन्दन तालको एक सय १६ बिघा जग्गा अतिक्रमणमा


नवलपरासी, २० फागुन : पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन गाउँपालिकास्थित नन्दन तालको नाउँमा रहेको एक सय १६ बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको छ ।

स्थानीयका अनुसार विगतमा तालको धेरै क्षेत्रमा जलाशय देखिन्थ्यो । “तालमा विभिन्न प्रजातिका माछा, जीवजन्तु रहन्थे । विभिन्न प्रजातिका चरा पनि तालमा आउने गर्थे । तालका छेउछाउमा गाईभैँसी, बाख्रा पनि चर्ने गर्थे”, पाल्हीनन्दन गाउँपालिका–६ निवासी लौहर चमारले बताउनुभयो ।

चमारका अनुसार तालमा माछा मार्नका लागि स्थानीयले दक्षिणतर्फको नाला खनेपछि तालको पानी बगेर सुक्दै गयो । सुक्खा भएको तालको जमिनमा केही जमिन्दारले खेती गर्न थालेका छन् । “अहिले ताल सुकेर खेतको रूपमा परिणत भएको छ । ताल सुकेसँगै तालको स्वरूप फेरिएको छ । तालको नाम निसानै मेटिएको छ”, उहाँले भन्नुभयो ।

यहाँका केही स्थानीयले नन्दन तालको जग्गा अतिक्रमण गरेपछि अहिले तालको चर्चा परिचर्चा हराउँदै गएको पाल्हीनन्दन गाउँपालिका–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार विगतमा ताल ठेक्का लाग्ने गर्थ्यो । “माछा मार्नका लागि नन्दन ताल ठेक्का हुन्थ्यो, त्यसपछि कात्तिक, मङ्सिर महिनादेखि माछा मार्ने काम सुरू हुन्थ्यो”, यादवले भन्नुभयो ।

अहिले केही हुनेखाने समुदायले नन्दन तालको जग्गा अतिक्रमण गरेर गरीबलाई अधिया भन्दै जोतभोग गर्न दिएका छन् । एक सय १६ बिघाभन्दा बढी जग्गा नन्दन तालको नाउँमा दर्ता रहेको पाल्हीनन्दन गाउँपालिकाका अमिन हरेन्द्र यादवले बताउनुभयो ।

यद्यपी ऐतिहासिक नन्दन ताल संरक्षण तथा प्रचारप्रसार गर्नुका साथै अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि घरबास बनाएर यहाँका स्थानीयलाई रोजगार दिने प्रयास थालिएको छ ।

तालको नक्सा बनाएर संरक्षणको अभियान अगाडि बढाएपछि नन्दन ताल अतिक्रमण गर्नेहरूले काममा अवरोध गर्ने प्रयास गरेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो । परासी सदरमुकामदेखि सात किलोमिटर दक्षिण सनई गाउँको नजिकै रहेको प्राचीन नन्दन तालको संरक्षणका लागि स्थानीय जनप्रतिनिधि लागिपरेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ