शुक्रबार, फागुन ०९, २०८१

सरकारले राससलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्‍यो: कार्यकारी अध्यक्ष झा


काठमाडौँ, ८ फागुनः राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित मूल समारोहमा उहाँले यसका लागि सरकारले बजेट बढाउनुपर्ने नभए आत्मनिर्भर बन्ने गरी स्वायत्तता प्रदान परिनुपर्ने धारणा राख्नुभयो ।

कार्यकारी अध्यक्ष झाले राससको समाचार सेवालाई सरकारी निकायले खरिद गरेको खण्डमा राससको आम्दानी बढ्ने र यो क्रमशः आत्मनिर्भरताको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “राससको आफ्नै आम्दानी पर्याप्त छैन । अहिले आफ्नै आम्दानीबाट कर्मचारीलाई उपदान दिनुपर्ने व्यवस्था छ । यसले समस्या भइरहेको छ । सरकारले रासस जस्ता संस्थालाई कि त शत्प्रतिशत बजेटको व्यवस्थापन गरिदिनुपर्‍यो, नभए व्यापार तथा आयआर्जनका लागि आफ्नो काम गर्ने गरी स्वतन्त्र छोडिदिनुपर्‍यो”, उहाँले भन्नुभयो,  “कमाउने बाटो खुला नहुने र बजेट पनि पर्याप्त नहुने हो भने संस्थालाई कसरी गतिशील बनाउन सकिन्छ ? सरकारले यसबारेमा गम्भीर भएर सोच्नुप¥यो । अन्य सञ्चारमाध्यमको समाचार सेवा खरिदमा अर्बौं रकम खर्चजस्तै रासस बुलेटिन खरिद गरेको खण्डमा हामी केही वर्षमै आत्मनिर्भर बन्न सक्छौँ ।

विसं २०१९ को ऐन, विसं २०४९ को सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का आधारमा संस्था चलिरहेको भन्दै कार्यकारी अध्यक्ष झाले ओएनएम समायोजन गरेर रासस ऐन सुधारका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले प्रतिनिधिमूलक प्रजातन्त्र नभई सहभागितामूलक प्रजातन्त्रको आवश्यकता सम्बोधनतर्फ देश अगाडि बढिरहेको अवस्थामा रासस पनि सोही अवधारणाअनुरूप अग्रसर रहेको बताउनुभयो । “हामीलाई सरकारको सञ्चारमाध्यम भनिन्छ । हामी आफूलाई राज्यको सञ्चारमाध्यमका रूपमा भन्दा ठीक हुन्छ कि भन्छौँ । मिडियामा समावेशी प्रतिनिधित्व र विषयवस्तुको विविधताको कुरा पनि उठ्छ । यसमा रासस प्रतिबद्ध छ । हामीको सहभागिताका सवालमा सचेत छौँ ।

कार्यकारी अध्यक्ष झाले सरकारको सूचना प्रवाहको प्रणाली स्पष्ट नहुँदा कतिपय अवस्थामा समाचार पुष्टि गर्न समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि समाचार सम्प्रेषण गर्दा मिडियालाई द्विविधा नहोस्, समाचार सम्प्रेषणमा एकरुपता आओस् भन्ने हेतुले सरकारको सूचना प्रवाह प्रणाली स्थापित गर्न आवश्यक छ । त्यसैले म यहाँ आग्रह गर्न चाहन्छु, यदि सरकारी सूचना सम्प्रेषण र प्रवाहका लागि रासस उपयुक्त संस्था हो भने सरकारले हामीलाई जिम्मेवारी देओस् त्यसलाई कुशल ढङ्गले निर्वाह गर्न तयार छौँ ।

कार्यकारी अध्यक्ष झाले सरकारले सहजीकरण गरेको खण्डमा राससलाई सिङ्गो मिडिया अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । “रासस समाचार बैङ्क मात्रै हैन रासस राज्यको स्मृति पनि हो । राससमा विसं २०१८ देखि हालसम्म राज्यका गतिविधि सङ्ग्रहित छन् । राससलाई एउटा ‘मिडिया रिसर्च सेन्टर’का रूपमा विकास गरौँ । मिडिया अनुसन्धानको कामका लागि राससमा काबिल जनशक्ति छन्”, उहाँको भनाइ थियो ।

कार्यकारी अध्यक्ष झाले समाचारमा ‘एआइ’ को कुरा आइसकेकाले अब ‘कन्टेन्ट’ विकासबारे विभिन्न जिल्ला र क्षेत्रमा यससम्बन्धी कार्यशाला आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ