काठमाडौँ, ५ फागुनः राससले संसदीय गतिविधिसँग सम्बन्धित समाचार सङ्कलन र सम्प्रेषण कार्य हामीले पनि अध्ययन गरिरहेकै छौँ । राससबाट निष्पक्ष र सन्तुलित समाचारका लागि भएका प्रयासमा समर्थन छ । यस कार्यका लागि तपाईहरू प्रशंसायोग्य हुनुहुन्छ । आगामी दिनमा पनि यही खाले भूमिकामा रहनुहोला । स्वभाविक रूपमा रासस सरकारको एउटा महत्वपूर्ण अङ्ग हो । सरकारप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ । सरकार भन्नासाथ सम्पूर्ण राष्ट्र, जनता, सबैखाले मनोविज्ञानको पाटोलाई बिर्सन हुन्न । सरकार भन्नासाथ प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलमात्रै बुझियो भने त्यसको सीमा साँघुरो हुन्छ ।
सञ्चारमाध्यमबाट सम्प्रेषण गरिएका समाचारलाई सरसर्ती विश्लेषण गर्दा कुन व्यक्ति बोल्यो भन्ने आधारमा स्थान पाउने र दिइएका समाचार बढाइचढाइ गरेको देखिन्छ । हामी गणतान्त्रिक शासन व्यवस्थामा छौँ तर पनि हाम्रो मनोविज्ञान, अभिव्यक्ति र कामकारबाही पुरानै छ । पात्रभन्दा प्रमुख विषय हो । अभिव्यक्तिको सन्देश के हो भनेर हेर्नुपर्छ । सामान्य किसानका विषयवस्तुमा पनि समाजमा गहिरो प्रभाव पार्ने सन्देश हुनसक्छ । त्यस्ता गतिविधि राससजस्ता समाचार गृहले समेट्न सक्नुपर्छ । उच्च ओहदामा बस्ने व्यक्तिले बोलेको ठीक तथा दुर्गम र पछि पारिएका समुदायका आवाज बेठीक भन्ने हुनुहुँदैन । विषयवस्तुका आधारमा समाचार बनाइनुपर्छ । जसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकोस् ।

यसर्थ व्यक्ति होइन विषयवस्तु वा सन्देश प्रधान हुनुपर्छ । समाचार अनुसन्धान र खोजमूलक हुनुपर्छ । म एउटा सन्दर्भ यहाँ उल्लेख गर्न आवश्यक ठान्छु, बीस वर्ष जेल सजाय भोगेपछि भएको फैसलामा निर्दाेष सावित हुनेले अब कहाँबाट न्याय पाउने भनेर पनि समाचारले स्पष्ट पार्नसक्नुपर्छ । निर्दाेष व्यक्तिले सजाय भोग्न नपर्ने गरी समाचार लेखिनुपर्छ । त्यो तपाईहरूको जिम्मेवारीभित्र पर्छ ।
(राससको ६४ औँ वार्षिकोत्सवका सन्दर्भमा आयोजित अन्तर–संवादमा नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीबाट व्यक्त विचार)
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










