काठमाडौँ, १ फागुन : नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सन अर्को साता हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करणका लागि खेलाडी अक्सन फागुन १० मा हुन लागेको हो ।
यसपल्टका प्रतियोगितामा सात टिमका सहभागिता रहनेछ । त्यसमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पूर्वविजेता काठमाडौं रेजर्ससँगै झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल–लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।
पछिल्लो संस्करणमा खेलेका स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेड भने यसपल्टको प्रतियोगितमा हुने छैनन् । प्रत्येक टिममा २२ अथवा २३ खेलाडी हुनु पर्नेछ । अक्सनमा खेलाडीलाई ए देखि डी गरेर चार समूहमा विभाजन गरिनेछ ।
प्रत्येक टिमले एक मार्की खेलाडी र एक नयाँ खेलाडी पनि लिनु पर्नेछ । यस्तै प्रत्येक टिमले छ विदेशी खेलाडीलाई अनुबन्ध गर्न सक्नेछ । त्यसमध्ये एक खेलाडी एसियाकै हुनु पर्नेछ । यस्तै एक खेलाडी विदेशमा रहँदै आएका नेपाली खेलाडी पनि हुनु पर्नेछ ।