शनिबार, फागुन १०, २०८१

पर्सा राष्ट्रिय निकुन्जको ‘एमगज’ हात्तीको जङ्गलमा उपचार


चन्द्रपुर (रौतहट), १ फागुनः लामो समयदेखि बिरामी भएर रौतहटको वन क्षेत्रमा घुमिरहेको पर्सा राष्ट्रिय निकुन्जको ‘एमगज’ नामक हात्तीको आज जङ्गलमा उपचार गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका डा अमिर सडौलाको नेतृत्वमा आएको टोलीले आज बिहान बिरामी हात्तीको उपचार गरेका जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार हिलेखोला वन क्षेत्रमा हात्ती देखिएको खबर पाएपछि डा सडौलाको टोलीसहित सशस्त्र वन रक्षकको टोली, वन कर्मचारी सो क्षेत्रमा पुगेर हात्तीको उपचार गरेका हुन् ।

हात्तीको दाया खुट्टामा चोट लागेको भन्दै गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने डा सडौलाले बताउनुभयो । “हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जङ्गलमा छाडिएको छ”, उहाँले भन्नुभयो । हात्ती बिरामी भएको खबर पाएपछि उपचारका लागि आएको उक्त टोलीले करिब दुई घण्टा लगाएर हात्तीको उपचार गरेको थियो ।

एमगज केही दिनअघि रौतहटको चन्द्रपुर–२ जुडिबेला गाउँमा घुमिरहेको थियो । स्थानीयले हात्ती बिरामी भएको खबर समाजिक सञ्जालमा हालेका थिए । हात्तीले रौतहटको उत्तरी भेगमा दर्जनौँको घर भत्काएको छ भने लाखौँको अन्न बालीमा क्षति पुर्‍याएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ