शुक्रबार, माघ ०४, २०८१

आलेख : रैथाने उत्पादनबाटै मनग्य आम्दानी


धरान (सुनसरी), ४ माघः धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री हुने गर्दछ । नेपालमा मात्र नभएर विदेशका धेरै ठाउँहरुबाट ‘अनलाइन’बाट माग गर्ने ग्राहक धेरै भएको उहाँ बताउनुहुन्छ ।

केही वर्षअघि काठमाडौँको ठमेलमा एकजना विदेशीबाट साबुन बनाउने तालिम लिएर त्यहाँबाट सिकेको सीपको उपयोग गर्दै उहाँले उद्योग सञ्चालन गर्नुभएको हो । उहाँले सात वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमा साबुन उद्योग सञ्चालन गरिरहनुभएको छ । रु २५–३० हजारको लगानीमा सुरु गर्नुभएको व्यापार अहिले राम्रो आम्दानीको स्रोत बनेको छ । नेपालमै सिकेको सीपलाई उपयोग गर्न सकियो भने थोरैै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले आफूमा रहेको सीपलाई विस्तार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा आयोजित तालिमहरुमा महिलालाई प्रशिक्षित गराउनुभएको छ । उहाँले इटहरी, उदयपुर, धनकुटालगायत ठाउँहरुमा तालिमहरु दिइसक्नुभएको छ । महिलाहरुले फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्न सक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउन सकिन्छ, यसबाट उपभोक्तादेखि मुलुकलाई नै फाइदा हुन्छ ।

सानो लगानीबाट गर्न सकिने यस्ता व्यवसायका लागि स्थानीय सरकार र स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उहाँको सुझाव छ । पछिल्लो समय जलवायु अनुकूलको दृष्टिले पनि रैथाने बालीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । अहिले धरानमा सञ्चालन गरिएको एक्स्पोमा पनि उहाँले बताउनुभएको साबुन किन्नेको घुइँचो देख्न सकिन्छ । मेलामा राखिएका रैथाने उत्पादनहरुप्रति उपभोक्ताहरुको आकर्षण बढेको छ ।

किबीको व्यावसायिकखेती

पाँचथरका जुनु लावती २०६८ सालदेखि किबीखेती गर्दै आउनुभएको छ । उहाँले सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग फार्म सञ्चालन गर्दै आउनुभएको छ । परम्परागत निर्वाहमुखी खेतीभन्दा व्यावसायिकखेती गरी आम्दानीसँग जोडिने नगदेबालीका रुपमा किबीखेती उपयुक्त लागेकोले २०६८ सालदेखि यसको खेती सुरु गरेको उहाँले बताउनुभयो ।

उहाँले यसमा कृषि फर्म, नर्सरी र प्रशोधन केन्द्र स्थापनामा झण्डै रु एक करोड बराबरको लगानी गरिसक्नुभएको छ । उहाँले अहिले ४५ रोपनी क्षेत्रफलमा किबीखेती गरिरहनुभएको छभने भाडामा जग्गा लिएर १५ रोपनी क्षेत्रफलमा नर्सरी उत्पादन गर्नुभएको छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, मिहेनत गरेमा कृषि पेसामै आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “कृषिमा लागेर पनि सफल व्यवसायी बन्न सकिने रहेछ ।

उहाँ धरान एक्स्पोमा किबीको व्यापार गर्दै आउनुभएको छ । किबी र किबीबाट उत्पादन गरिएका जुसको व्यापार अत्यधिक मात्रामा बिक्री भइरहेको छ । लावतीले अहिले एक्स्पोमा किबी फलबाट उत्पादन गरिएको किबीको जुस, अचारलगायत किबीबाट उत्पादन गरिएको विभिन्न वस्तुहरु बिक्रीका लागि राखिएको छ । सूचना प्रविधिको पहुँचबाट टाढा रहेका कारण आफूले अनलाइनको माध्यमबाट बजारीकरण गर्न नसकेका कारण विभिन्न जिल्लामा आयोजित एक्स्पो मेला, महोत्सवलगायत ठाउँहरुमा पुगेर आफ्ना उत्पादनहरु बिक्रीका लागि लैजाने गरेको उहाँले बताउनुभयो ।

यस्ता मेला, महोत्सवहरुमा दैनिक रु ८० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दुर्गम ठाउँहरुमा उत्पादन गरिएका कृषि रैथाने बाली पर्याप्त पौष्टिक तत्वले भरिपूर्ण हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा बिस्तारै उपभोक्ताहरुको आकर्षण बढ्दो छ । अझै यसबारे प्रचारप्रसार र आम सर्वसाधारणमा जानकार र चेतना पु¥याउन सकिएमा बजारको समस्या हुने थिएन ।”  लावतीले भन्नुभयो,  “किबी उत्पादन भए पनि बजारको समस्या छ । किसानले उत्पादन गरेको वस्तुहरु सरकारले उचित मूल्यमा खरिद गरी बजारीकरण गरिदिए किसानलाई सहज हुनेछ । किसानहरुले उत्पादन गरेका वस्तुहरु बिक्री हुने कुरा सुनिश्चित गर्न सकिए नेपालमै स्वरोजगार सिर्जना गर्न सकिन्छ ।

उहाँले किबी खेतीबाहेक नर्सरीबाट पनि राम्रै आम्दानी गर्नुभएको छ । उहाँको नर्सरीबाट उत्पादन गरिएका विभिन्न जातका बिरुवाहरु पाँचथर, सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा मात्र होइन, भारतका विभिन्न सहरहरुमा समेत बिक्री हुने गरेको छ ।

सक्खरको गुलियो व्यापार

विगत २० वर्षदेखि सख्खरको व्यापारमा रमाई रहनुभएका सङ्खुवासभाका दिलीप मगरलाई पनि यस पटकको धरान एक्स्पो निकै फाइदाजनक बन्यो । उहाँ सक्खरको व्यापारबाट राम्रै आम्दानी भएको बताउनुहुन्छ । लामो समयसम्म सँुगुरपालन र दानाखेती गर्दै आउनुभएका उहाँ २० वर्षदेखि सक्खरको व्यापारमा लाग्नुभएको छ । अहिले डिएलएमएस बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर सक्खरबाहेक अम्रिसोको कुच्चो, निबुवाको चुक साथै अन्य अग्र्यानिक कृषि उत्पादनको व्यापार पनि गर्ने गर्नुहुन्छ ।

सक्खरको व्यापार मौसमी पेसा भएकाले वर्षमा नौ महिना मात्रै यसको व्यापार हुने गरेको गर्दछ । नौ महिनामा मात्र उहाँले पाँच हजार केजीभन्दा बढी सक्खर बनाएर बिक्री गरेको र यसबाट रु १२ लाखसम्म आम्दानी भएको उहाँको भनाइ छ । सक्खर बनाउनका लागि मात्र उहाँले अहिले ९५ रोपनी जग्गामा उखुखेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सक्खर बनाउनका लागि उखु बाहिरबाट खरिद गर्नु पर्दैन, आफैँले खेती गरेको कारण निकै सहज भएको छ ।

उहाँको फार्ममा बास्नादार र शुद्ध सादा गरी दुई किसिमको सक्खर पाइन्छ । बास्नादार सक्खर बनाउँदा ल्वाङ, सुकुमेल, गरम मसला र नरिवल हालेर बनाउने गरिन्छ भने शुद्ध सादामा केही नहाली बनाइएको हुन्छ । उहाँले सादा सक्खर अहिले प्रतिकेजी रु दुई सय र बास्नादार सक्खर रु पाँच सयमा बिक्री भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार सक्खर किन्नका लागि धेरैजसो व्यापारी फार्ममै पुग्ने गरेका छन् भने कतिपयले फोनबाट माग गर्दछन् । फार्मबाट बिक्री गर्नुभन्दा मेला, महोत्सवमा बिक्री गर्दा बढी फाइदा हुने गरेकोे उहाँको भनाइ छ ।

पछिल्लो समय धेरै मानिसमा मधुमेहको समस्या देखिएकाले पनि चिनीको सट्टा सक्खरको प्रयोग गर्न थालेपछि यसको व्यापार बढेको उहाँको भनाइ छ । उहाँले उत्पादन गर्नुभएको सक्खर सुनसरी, धनकुटा, मोरङ, विराटनगर, झापा, काठमाडौँ, पोखरालगायत ठाउँमा बिक्री हुने गरेको छ ।

एक्स्पोमा सक्खर किन्न आउनुभएका धरानका साजन उदास पछिल्लो समय गुलियो पारखीहरुका लागि सक्खर निकै लाभदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिनीको प्रयोग गर्दा विभिन्न किसिमका रोग लाग्ने गरेकाले सक्खरको प्रयोग गर्न थालेको हुँ ।” सक्खरलाई चिनीको सट्टा चिया, रोटीलगायत अन्य परिकारहरुमा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

एक्स्पोले गरायो बजारीकरण

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना, स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सङ्घीय सरकारको सहयोगमा सुरु भएको धरान एक्स्पोबाट स्थानीय किसानका साथै उपभोक्ताहरु लाभान्वित भएका छन् । व्यापार–व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा हस्तकलाका सामग्री, कृषिजन्य उत्पादनहरु राखिएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ भन्नुहुन्छ, “एक्स्पोमा विषादीयुक्त तरकारीका साथै कृषि उपजको आयातलाई निरुत्साहित गर्दै किसानले उत्पादन गरेको स्थानीय उत्पादनहरुलाई प्राथमिकतामा राखेर एक्स्पोको आयोजना गरिएको हो ।

एक्स्पोमा स्थानीय उत्पादन र किसानलाई अग्र्यानिक उत्पादनमा जोड दिँदै बिक्री कक्षहरु राखेर प्राविधिक सहयोग गर्दै आएको धरान एक्स्पो अनुगमन समितिको संयोजक जयप्रकाश शर्माले बताउनुभयो । स्थानीय निकायमा भएका सानादेखि ठूला उद्योगबाट उत्पादन भएका सबै उत्पादनलाई एक्स्पोमा प्रदर्शनीका लागि राखिएको एक्स्पोका मूल संयोजक गोपाल श्रेष्ठ बताउनुहुन्छ ।

एक्स्पोमा राखिएका एक सय ४२ वटा स्टलमा कृषिउपज, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, तयारी कपडा, घरेलु सामान प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् । एक्स्पोमा कोशी प्रदेशका विभिन्न जिल्लाहरु र छिमेकी दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट अवलोकन तथा व्यापार–व्यवसायका लागि आउने मानिसको भीड लागेको छ । एक्सो गत पुस २५ गतेदेखि सुरु भई यही माघ ५ गतेसम्म सञ्चालन भइरहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading