07/26/2025, 12:15:21

आलेख : फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने सङ्कट


बरहथवा (सर्लाही), ९ साउनः मौसम पूर्वानुमान महाशाखाले यस वर्ष विगतकोभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । देशका अन्य भूभागमा पानी परिरहेको भए पनि मधेसमा मौसम राम्रोसँग बदली हुन सकेको छैन ।

असार खडेरीमा बितेको मधेसमा धान रोपाइँ प्रभावित त भयो नै, खानेपानीकोसमेत सङ्कट गहिरिन थालेपछि चौतर्फी चिन्ता बढेको छ । आकाशको पानी पर्न नसकेपछि भूमिगत जलसतह गहिरिँदै गएको तथ्याङ्कले देखाएको छ । तराई मधेसको अहिलेको टड्कारो चिन्तासँगै अर्को विपत्तिको आँकलन स्थानीयले गर्न थालेका छन् । साउनको पहिलो हप्ता बित्नैलाग्दा झरी नदेखेका स्थानीय अब हुने वर्षाको रूप कस्तो होला भनेर चिन्तित बनेका हुन् ।

यस वर्ष विगतकोभन्दा धेरै वर्षा हुने मौसम विज्ञहरूको यस पहिलाकै चेतावनी हो । यस अर्थमा यस वर्ष मधेसमा हुने वर्षा सामान्य हुनेछैन । असारभरि पानी पर्न नसकेको तराईमा साउनको पहिलो हप्ता पनि उस्तै गरी टर्ने हो की भन्ने चिन्ताले स्थानीयवासी चिन्तित छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३, सेती भिरका सन्तबहादुर रखाल मगरले यस वर्षको मौसमी अवस्थालाई ३२ वर्ष पहिलाको विपत्तीको पूर्वसङ्केतसँग तुलना गर्नुहुन्छ । यसरी ढिलोगरी भएको वर्षाले वितण्डा ल्याउने उहाँको अनुमान छ ।

विसं २०५० मा पनि यस्तै भएको थियो”, उहाँले स्मरण गर्नुभयो, ‘‘असार पूरै सुक्खामै टरेको थियो । किसान खेती गर्न नपाएपछि अनिकालको चिन्ता गर्दै थिए । एक्कासी साउन ५ गते रातिबाट मुसलधारे वर्षा सुरु भयो । तीन दिन तीन रात आकाशले आँखै उघारेन । त्यसपछि देशको चारैतिर तहस नहसबाहेक केही थिएन ।” यस वर्ष पानी नपरेपछि धान रोप्न नपाउनुभएको उहाँमा चामल किनेर खानुपर्ने चिन्तासँगै प्रतिकूल मौसमको डर देखिन्थ्यो ।

आफूले गरेको खेतीबाट चामल खान कहिले खाँचो भएको थिएन”, उहाँले भन्नुभयो, “यसपाला किनेर खानुपर्ने भयो ।” अन्नको जोहोभन्दा पनि मौसमको अबको वितण्डा के हुने ? भन्ने चिन्ताले उहाँलाई थप सताइरहेको छ । भौगोलिक अवस्थिति नबुझी बसेका वा बसाइएका मानव बस्ती र गरिएको विकासले प्राकृतिक विपत्तिको ठूलो जोखिम निम्त्याइरहेको जिल्लास्थित मानव अधिकार आयोगका प्रतिनिधि तथा पूर्वप्रधानाध्यापक रजनीकान्त झा बताउनुहुन्छ ।

यस्ता प्राकृतिक विपत्तिको मूल्याङ्कन मानिसले घर बनाउने, बसोबास गर्ने बेलामा गर्दैनन्”, उहाँले भन्नुभयो, “जहाँ खाँबो गाड्न मिल्छ त्यही घर बनाइहाल्ने प्रचलनले हामी आफैँले विपत्ति निम्त्याइरहेका छौँ ।” पानीको निकासा छेक्ने, सिमसार क्षेत्र पुर्ने, भिर काटेर घर बनाउनेजस्ता व्यवहारले पहिरो, डुबान, बाढीजस्तो चपेटामा पर्ने र जोखिम बढ्ने गरेको उहाँको भनाइ छ । यसतर्फ राज्यका कुनै निकायले ध्यान नदिएको झा बताउनुहुन्छ ।

सङ्घीयता कार्यान्वयनपछि गठित स्थानीय तहले गरेका विकासमा झन् कुनै निकास छैन”, नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले भन्नुभयो, “जनप्रतिनिधि, ठेकेदार, अप्रेटर सबै इञ्जिनियर उहाँहरु आफैँले आफ्नो हिसाबले विकास गर्नुभएको छ । प्रकृतिले आफ्नो हिसाबले विनाश गर्ने पक्का छ ।” प्राकृतिक हिसाबले बगेका खोला र खहरेलाई मानिसले तीव्र गतिमा आफ्नो स्वार्थअनुसार घुमाउने, खुम्च्याउने, पुर्ने गर्दा जोखिम बढेको उहाँले बताउनुभयो ।

तराईको ठाउँमा पानीले निकास नपाउने हुँदा प्रत्येक वर्ष गाउँबस्ती डुबानमा पर्ने गरेको छ । धेरै खहरे खोला र सदाबहार नदीहरू उर्लिएर गाउँबस्तीमा पस्ने गरेका छन् । विपद् व्यवस्थापन समिति सर्लाहीले तयार गरेको प्रतिवेदनअनुसार सर्लाहीमा बागमती, लखन्देखी, झिमलगायतका नदी तथा त्यसका सहायक खोलाहरू एकादशी, मनुसमारा, सोतीलगायतले जिल्लामा ठूलो भू–भाग र त्यसमा बसोबास गर्दै आएका नागरिकलाई प्रभावित पार्दै आएको छ ।

जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, विष्णु गाउँपालिका, गोडैता नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकामा यी नदीले बालीनालीमा समेत ठूलो क्षति पु¥याउने गरेको विगतको तथ्याङ्क छ । वर्षौंदेखि स्थानीयलाई दुःख दिँदै आएका यस्ता खोला तथा खहरेको क्षति आँकलन गरेर गरिने पूर्वतयारीमा स्थानीय तह भने मौन बस्ने गरेका छन् ।

जनप्रतिनिधिसमेत हरेक वर्षा नागरिकको गाँस र बास गुमेपछि राहतको ललिपप बोकेर निर्लज्ज भएर गाउँ आउने गरेका बरहथवा नगरपालिका–५ का दिनेश महतोले गुनासो गर्नुभयो । केही वर्ष पहिलासम्म खुला भएर बग्ने आफ्नो घर अगाडिको सोती खोलाले पानी परेपछि मच्चाउने वितण्डा सम्झेर उहाँ चिन्तित हुनुहुन्छ । “विगतका वर्षमा नै यो खोला घर उर्लिएर आउँथ्यो”, उहाँले भन्नुभयो, “यस वर्ष नगरले विकास गर्ने नाममा आधा खोला पुरेर बाटो बनाएको छ । अब के हुने हो थाहा छैन ?

के छ त पूर्वतयारी ?

स्थानीय सरकार सञ्चालन ऐनले पालिका क्षेत्रमा विपद् व्यवस्थापनको सम्पूर्ण अधिकार र जिम्मेवारी पालिकालाई नै दिएका छ । तर, पालिकाहरू यसतर्फ गैरजिम्मेवार बन्ने गरेको स्थानीयको गुनासो छ । समय रहँदै गर्नुपर्ने सम्भावित जोखिम क्षेत्र पहिचान, नागरिकको जीउधनकै रक्षाका लागि गर्नुपर्ने पूर्वतयारीलाई बेवास्ता गर्ने गरेको जिल्लाको धन्कौल–५, निवासी जितेन्द्रसिं कुशवाहाले बताउनुभयो ।

विपद् पूर्वतयारीका नाममा केही पालिकाले गोदाममा त्रिपाल थुपारेर राख्नेबाहेक कुनै काम गरेका छैनन् । यसले विपद्मा परेका नागरिकको पुनःस्थापनाको लागि पर्याप्त नहुने नागरिक समाजका अगुवा चौधरीको भनाइ छ । विपद्को अवस्थामा पीडितहरू स्थानीय तहले गर्ने व्यवहारले थप पीडित बन्ने गरेका उहाँको अनुभव छ । गत वर्ष पानी कम परेको सर्लाहीको दक्षिणी क्षेत्रका बलरा, रामनगर, विष्णु, कौडेनालगायतका पालिकाका सयौँ नागरिक घरबारविहीन बनेका थिए । त्यतिबेला धेरैको बालीनाली बाढी र डुबानमा परेर नष्ट भएको थियो ।

यस वर्ष बलरा नगरपालिकाले नागरिक सुरक्षाका लागि सम्पूर्ण तयारी गरेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जानकारी दिनुभयो । नगरपालिका अन्तरगतको १ देखि ५ नम्बरसम्मको वडा प्रभावित हुनसक्ने पूर्वानुमानअनुसार खाद्यान्नसँगै सुरक्षित आवासको पहिचान गरी तयारी गरिएको उहाँको भनाइ थियो । “हामीले नगरअन्तर्गतको विपद् व्यवस्थापन समितिमार्फत तयारी पूरा गरेका छौँ”, उहाँले भन्नुभयो, “तत्काल उद्धार गर्नुपर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय र सहकार्य गर्नेगरी योजना बनाएका छौँ ।

यस पहिला जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा नगरअन्तरगतको समस्या समाधानको पहल गरेको उहाँले बताउनुभयो । भारततर्फ निर्माण भएको एसएसबी रोडका कारण बागमती नदीको पानी नेपालतर्फ फर्किएर क्षति गर्ने गरेको प्रमुख कुशवाहाले बताउनुभयो । भारतीय पक्षले ड्यामका रुपमा सडक निर्माण गरिदिएपछि विगत तीन वर्षदेखि हरेक वर्ष बलरा नगरपालिकाको पाँच वडा डुबानमा पर्दै आएको उहाँको गुनासो छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बल्ल साउनेको पहिलो हप्ता बैठक बसेको छ । यस बैठकबाट जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानको पहिलो पहल सुरु गरेको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो । मलङ्गवा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिकालगायतका स्थानमा खानेपानी नहुँदा स्थानीय नागरिक समस्यामा परेको भन्दै बैठकबाट समस्या समाधानको चौतर्फी पहल गर्ने निर्णय गरेको हो ।

यस्तै, खडेरीले धान रोप्न नपाएका किसानको राहतको लागि सिँचाइ आयोजनाको व्यवस्थापनको पहल गर्ने तथा कार्यक्षेत्र विस्तारका लागि आग्रह गर्न उहाँले बताउनुभयो । अहिलेसम्म नपरेको पानी एक्कासी अनियन्त्रित रुपमा परे त्यसको व्यवस्थापन कसरी गर्ने योजनामा हुनुहुन्छ भन्ने प्रश्नमा विपद् पूर्वतयारी गरिएको र आवश्यकताअनुसार स्रोत र जनशक्ति परिचालन गरिने उहाँले बताउनुभयो । तथापि जिल्लाका जोखिमयुक्त स्थान, नागरिक र जोखिमको अवस्था आँकलन र स्पष्ट योजना भने बनाउन बाँकी रहेको उहाँको दाबी छ । यस वर्ष मौसम थप सक्रिय भएर वर्षा अधिक हुने प्रक्षेपणले त्यसबाट सिर्जना हुने विपद् जोखिम बढ्ने सहजै अनुमान लगाउन सकिन्छ । तर, त्यसको पूर्वतयारी सोहीअनुसार हुन नसक्नुले विपद्पछिको ठूलो क्षतिको सङ्केत गरेको जानकारहरूको भनाइ छ ।