बिहिबार, माघ ०३, २०८१

पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ, ३ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले मुलुकमा सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

पिएसबीको पूर्वप्रारम्भ (प्रि-लन्चिङ) कार्यक्रमको आज यहाँ आयोजित समापन समारोहमा मन्त्री गुरुङले यस सेवाले सुशासन प्रवर्द्धनमा पहरेदारको भूमिका निर्वाह गर्दै देश र जनताका पक्षमा काम गरेर औचित्य पुष्टि गर्न निर्देशन र सुझाव दिनुभएको हो ।

मुलुकमा सुशासन कायम गर्न यसको भूमिका महत्वपूर्ण हुनुपर्छ । राज्यमा भएका समस्या र सरकारका कमजोरी देखाइदिनुपर्छ”, उहाँले भन्नुभयो, “जनताका पक्षमा काम गर्नसक्यो भने यसको औचित्य पुष्टि हुन्छ ।

मन्त्री गुरङले पिएसबी कार्यान्वयनसँगै जनशक्ति एवं संस्थागत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको समेत बताउनुभयो । “जनशक्ति व्यवस्थापन, सङ्गठन परिचालन कसरी हुन्छ भन्ने विषयमा मन्त्रालय प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “कर्मचारी कोही पनि अलमलमा पर्नुपर्दैन, काम गर्दै जानुहोस, सबै व्यवस्थापन हुन्छ ।

मन्त्री गुरुङले पिएसबीले स्वायत्त रुपमा काम गर्ने उल्लेख गर्दै आगामी दिनमा गोरखापत्र संस्थान पनि सोही ढाँचामा सञ्चालन हुनसक्ने बताउनुभयो । संस्थाहरु स्वतन्त्र हुनुपर्छ भन्ने बहस चलिरहेको सन्दर्भमा उहाँले स्वतन्त्रभन्दा धेरै स्वायत्त हुनुपर्नेमा मन्त्री गुरुङको जोड थियो । मन्त्री गुरुङले पिएसबीसँग सम्बन्धित नियमावली र विनियमावली निर्माणमा मन्त्रालयले हस्तक्षेत नगर्ने समेत स्पष्ट पार्नुभयो ।

पिएसबीका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले ऐनले निर्दिष्ट गरेको विषयमा काम गर्न आफूहरु कटिबद्ध रहेको बताउनुभयो । उहाँले पूर्वप्रारम्भ कार्यक्रमको तीनदिने कार्यशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४० जना विज्ञबाट प्राप्त सुझावअनुसार सेवा प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्वजनिक प्रसारण रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल टेलिभिजनका टावरहरु मर्ज प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभयो । दुई संस्थाको काम गर्ने शैली फरक भए पनि एकापसमा सामिप्यता कायम गराउन अग्रसर सरकार र सदनप्रति आभार प्रकट गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading