10/19/2025, 13:31:03
आइतबार, कार्तिक ०३, २०८२

अनलाइन ठगीबाट बच्न खेल्नुहोस् गुगलको ‘बी स्क्याम रेडी’ गेम


काठमाडौँ, कात्तिक २ : आजको डिजिटल युगमा अनलाइन ठगी र फिसिङका घटना व्यापक रूपमा बढिरहेका छन् । आवाजको नक्कल, डिपफेक र सक्कली जस्तै लाग्ने ठगीका नयाँ-नयाँ तरिकाका कारण जो कोही पनि सजिलै यसको सिकार बन्न सक्छन् ।

अनलाइनमा कसरी ठगी हुन्छ र ठगले कस्ता रणनीति अपनाउँछन् भन्ने थाहा हुँदाहुँदै पनि मानिसहरू झुक्किरहेका हुन्छन् । यस्ता घटनाबाट जोगिन सधैँ सतर्क रहनुपर्छ । यसका लागि विभिन्न किसिमका अनलाइन ठगी र फिसिङ स्क्याम सजिलै पहिचान गर्न सक्ने बन्नु जरुरी छ । यही विषयमा अभ्यास गर्न गुगलले एउटा नयाँ अनलाइन गेम सार्वजनिक गरेको छ ।

गुगलको ‘बी स्क्याम रेडी’ (Be Scam Ready) नामक यो अनलाइन गेममा तपाईंलाई विभिन्न तरिकाले झुक्याउने प्रयास गरिन्छ, जसबाट तपाईंले स्क्याम हो वा होइन भनेर पहिचान गर्नुपर्ने हुन्छ । यस गेममा अनलाइन ठगहरूले मानिसलाई कसरी फसाउँछन् र कस्ता व्यवहारिक पक्षहरू प्रयोग गरेर बहकाउँछन् भन्ने कुरा सिकाइन्छ । यो खेल खेलेपछि प्रयोगकर्ताले कुनै पनि शङ्कास्पद सन्देशलाई गम्भीरतापूर्वक विश्लेषण गर्न सक्ने गुगलको दाबी छ ।

यसका लागि गुगलले ‘नेसनल साइबरसेक्युरिटी अलायन्स’ (एनसीए) सँग सहकार्य गरेको छ । खासगरी युवा र वृद्धवृद्धालाई सचेत बनाउन यस खेलले महत्त्वपूर्ण भूमिका खेल्ने गुगलको विश्वास छ । हाल यो खेल अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ र यसमा अमेरिका लगायतका विकसित तथा विकासोन्मुख देशमा हुने अनलाइन ठगीका घटनाहरू समेटिएको छ । यो खेल खेल्न यहाँ क्लिक गर्नुहोस् ।