कास्की । पर्यटकीय राजधानी पोखरामासमेत छठ पर्व धूमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरूका लागि पोखरामै चार प्रमुख स्थानमा छठ पूजा गर्ने व्यवस्था गरिएको हो । पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई-मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षमा पोखरामै छठ पर्व मनाउँदै आएका छन् ।
पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), नारायण स्थान मन्दिर, सेती गण्डकी र काली खोलाको संगमस्थल र कमलपोखरीलाई पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको नारायण स्थान मन्दिर पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिए । चार वटै स्थानमा पूजा समिति गठन गरी सामूहिक पूजाको प्रबन्ध गरिएको छ ।
पोखरामै छठ पर्व मनाउने भक्तहरूका लागि सहज वातावरण सिर्जना गर्न समिति सरसफाइदेखि आन्तरिक व्यवस्थापनसम्ममा जुटेका हुन् । उनले भने, “हामीले विगत देखिनै पोखरामा छठ पूजाका लागि व्यवस्था गर्दै आएका छन् । पूजाका लागि आफ्नो घर जान असमर्थ भएका र यहीँ बसेर पूजा गर्नुपर्ने बाध्यता भएकाहरूलाई सहज भएको छ । पोखरामा हामीले धूमधामका साथ यस वर्ष पनि छठ मनाउने छौँ ।”
छठ पूजामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने । पूजा स्थलहरूमा फूलमाला, रङ्गीन बत्ती र टेन्ट जडान गरी श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको उपाध्यक्ष गुप्ताले बताए ।
भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने परम्परा रहेको छ । केराको खम्बा, भोगटे, सुन्तला, उखु, अदुवा, लगायतका फलफूलका बोटहरूबाट मण्डप सजाइने र सूर्यदेवलाई भगवानको रूपमा पूजा गरेर मनोकामना पूर्ति हुने विश्वासका साथ व्रत बस्नै गरिएको उनले बताए ।
पोखरामा १० हजारको हाराहारीमा नागरिकले छठ पर्व मनाउने गरेको बताइन्छ । पछिल्लो समय तराईसहित पहाडी समुदायमासमेत छठ मनाउने प्रचलन बढेको पाइन्छ ।












