10/26/2025, 14:27:33
आइतबार, कार्तिक १०, २०८२

दुर्गममा टेलिकमको फोरजी सेवा विस्तार


काठमाडौँ, कात्तिक ९ : पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठुलो राहत मिलेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचोआसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो । तिलिचोमा फोरजी सेवा विस्तारपछि प्रतिक्रिया दिँदै मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रमा टेलिकमको पहुँच पु¥याउने अभियान अन्तर्गत तिलिचोमा फोरजी सेवा पुगेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पु¥याउने लक्ष्य लिएको छ, सोही अनुसार तिलिचोआसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन भएको हो, अब त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई ठुलो राहत भएको छ । अब हाम्रो उद्देश्य टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा सेवा विस्तार हो ।

तिलिचोमा मात्रै होइन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखि सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङको तलकोटमा पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको छ । तलकोट गाउँपालिका–४, बुङ्गाडाँडामा बिटिएस टावर जडान गरेर पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याइएको तलकोटमा रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिनुभयो । उहाँका अनुसार तलकोट–१ र ४ मा सेवा सुरु भइसकेको छ भने जयपृथ्वी नगरपालिका–१ र ५ मा पनि चाँडै फोरजी सेवा सञ्चालन गरिने उहाँको भनाइ छ ।

तलकोट–४ का अध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई आपत्कालीन सम्पर्क, दैनिक कारोबार तथा पारिवारिक सन्देश आदानप्रदानमा सहज भएको बताउनुभयो ।

गत असोज ३१ गते नै दार्चुलाको मार्मा गाउँपालिका–५ मा नेपाल टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार उक्त स्थानमा पहिले एउटा मात्रै टावर रहेकामा नयाँ टावर स्थापना गरी सेवा सञ्चालमा ल्याइएको छ ।

त्यसै गरी डोटीको दिपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको बारेकोटमा गत असोज ९ गते चट्याङका कारण अवरुद्ध टेलिफोन सेवा हालै सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएपछि १० हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका थिए । उक्त विषयमा मन्त्रालयमा प्राप्त गुनासोपछि मन्त्री खरेलले तत्कालै समन्वय र ताकेता गरेर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिनुभएको थियो । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन भएको हो । स्थानीय प्रकाशमान सिंहले अवरुद्ध टेलिकमको सेवा सञ्चालन भएसँगै स्थानीयलाई ठुलो राहत मिलेको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा दूरसञ्चार सेवा विस्तारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ । उहाँले ती क्षेत्रमा रहेको नेपाल टेलिकमका कार्यालय प्रमुख, फिल्ड इन्जिनियरलगायतलाई सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि ताकेता र आवश्यक निर्देशन दिँदै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वयन गरिरहनुभएको छ ।

मन्त्री खरेलले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पु¥याउने लक्ष्य लिएको छ, सोहीअनुरूप पछिल्लो समय दार्चुला, बझाङ, जाजरकोट, मनाङको तिलिचोलगायत क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । यो सेवाले स्थानीय र पर्यटकलाई सहयोग पुग्ने छ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।

खरेल सञ्चारमन्त्रीमा नियुक्त हुनुभएपछि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधि प्रवर्धन र युवाको संलग्नताका सम्बन्धमा जेनजी युवाका प्राविधिक क्षेत्रका जानकारसँग सुझाव लिएको थियो । डिजिटल रूपान्तरणसम्बन्धी अन्तर्क्रियामा सञ्चारमन्त्री खरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सुशासन प्रवर्धन र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइने बताउनुभएको थियो । उहाँले सुशासनका लागि डिजिटल रूपान्तरणसहित डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधि प्रवर्धनमा युवा पुस्ताको सुझाव लिएर आगामी रणनीति र कार्ययोजना बनाउन पहल गर्ने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले विपत्को समयमा प्रविधि प्रयोगमार्फत गरिएको पूर्वसूचना प्रणालीले महत्वपूर्ण काम गरेको र जनधनको क्षति न्यूनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत क्षेत्रको सुधारका लागि प्रविधि प्रयोग महत्वपूर्ण हुने बताउनुभयो ।