वासिङ्टन, असोज १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । सो अनुसार एपको नियन्त्रण उहाँको राजनीतिक र व्यवसायिक सहयोगीले सम्हाल्ने छन् ।
यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको चिनियाँ स्वामित्व २० प्रतिशतमा सीमित हुनेछ । चीनले भने शुक्रबार प्रतिक्रिया दिँदै यस विषयमा ‘खुला र निष्पक्ष’ व्यवहारको आह्वान दोहोर्याएको छ । एक करोड ७० लाखभन्दा बढी अमेरिकी प्रयोगकर्तासहित टिकटक विश्वकै लोकप्रिय छोटो भिडियो प्लेटफर्ममध्ये एक हो ।
तर चिनियाँ मूल कम्पनी बाइटडान्सको स्वामित्वले अमेरिकामा राष्ट्रिय सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ, जसका कारण वासिङ्टनले अमेरिकी सञ्चालनको नियन्त्रण लिन दबाब दिएको हो । ह्वाइट हाउसमा भएको हस्ताक्षर समारोहमा ट्रम्पले एपको अमेरिकी संस्करण ‘उच्च स्तरका लगानीकर्ता’ अर्थात् उहाँका नजिकका सहयोगीको समूहले सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार एप राजनीतिक दृष्टिले कुनै पनि धारमा झुक्ने छैन ।
लगानीकर्तामा ओरेकलका संस्थापक ल्यारी एलिसन, टेक उद्यमी माइकल डेल र मिडिया टाइकुन रुपर्ट मर्डोक सामेल हुनुहुन्छ । साथै, सिल्भर लेक म्यानेजमेन्ट र सिलिकन भ्यालीको शक्तिशाली लगानी संस्था एन्ड्रिसन होरोविट्ज पनि सम्झौतामा छन् । “यो विनिवेशले लाखौँ अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रयोग गर्न निरन्तर अनुमति दिनेछ, तर उनीहरूको डाटा राष्ट्रिय सुरक्षासँग सुरक्षित रहने छ”, ट्रम्पले भन्नुभयो ।
-निरन्तर निगरानी-
नयाँ व्यवस्थाअनुसार टिकटकको अमेरिकी संस्करणले आफ्नै स्वदेशी एल्गोरिदम मोडेल प्रयोग गर्ने छ । यही एल्गोरिदमलाई प्रायः एपको ‘गोप्य सफलता सूत्र’ मानिन्छ । ह्वाइट हाउसका एक अधिकारीले यस एल्गोरिदम ‘अनावश्यक प्रभावमा नपरोस्’ भनेर निरन्तर निगरानी गरिने बताए ।
टिकटकसँग सम्बन्धित नयाँ ढाँचा पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनको कानूनअनुरूप आएको हो । सो कानूनले बाइटडान्सलाई अमेरिकी सञ्चालन बेच्न वा प्रतिबन्धको सामना गर्न बाध्य पारेको थियो । अमेरिकी नीतिनिर्माताले चीनले टिकटकमार्फत डाटा सङ्कलन गर्ने वा एल्गोरिदम प्रयोग गरी अमेरिकी जनमानसमा प्रभाव पार्ने जोखिम रहेको दाबी गर्दै आएका छन् ।
ट्रम्पले यसअघि कार्यकारी आदेशमार्फत समयसीमा विस्तार गर्दै सन् २०२५ डिसेम्बर १६ सम्मको समय दिनुभएको थियो । बिहीबारको आदेशले फेरि जनवरी २३ सम्म एक सय २० दिनको थप समय उपलब्ध गराएको छ ।
-चीनको प्रतिक्रिया-
सम्झौतासम्बन्धी प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन संवादको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रपति सीले यसलाई अनुमति दिनुभएको छ । उहाँको समर्थन अत्यन्तै महत्वपूर्ण छ ।” राज्य सञ्चालित सिसिटिभीले सीले अमेरिकासँगको वार्ता बजार-आधारित र चिनियाँ कानूनसँग मेल खाने हुनुपर्ने धारणा व्यक्त गर्नु भएको जनाएको छ ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी आशा गर्छौं कि अमेरिकाले चिनियाँ कम्पनीप्रति खुला, निष्पक्ष र गैर-भेदभावपूर्ण व्यापार वातावरण सुनिश्चित गर्ने छ ।” टिकटकले भने अहिलेसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन ।