अत्तरिया (कैलाली), कात्तिक १० गते । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो ।
पाँच वर्षअघि रु. ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहनुभएको छ । बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उहाँले त्यसबाट मनग्य आम्दानी गरिरहनुभएको छ । चौधरीले भन्नुभयो, “पहिले ज्ञान, सीप कम थियो । छ महिनामात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु । आम्दानी पनि राम्रै छ ।”
सात वटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु. १० लाख आम्दानी हुने उहाँले सुनाउनुभयो । हाल बजारमा च्याउ प्रतिकिलो रु. १८० का दरले बिक्री भइरहेको छ। चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा माग बढी छ । मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन । हाद प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।”
चौधरी च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउनुहुन्छ । यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाइलेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उहाँले जानकारी दिनुभयो । यसबाटै भएको कमाईबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीले बताउनुभयो ।
“आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु”, चौधरीले भन्नुभयो, “हाल ज्यालादारीमा दैनिक आठ जनालाई रोजगारी दिएको छु । दैनिक प्रतिव्यक्ति रु. छ सयदेखि ७०० सम्म ज्याला दिने गरेको छु ।”














