ताप्लेजुङ, कात्तिक १० : ताप्लेजुङमा आइतबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङलिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यस वर्षकै उच्च हो ।
तिहार सकिएसँगै सदरमुकाम फुङलिङ बजारमा अलैँचीको कारोबार सुरु भएको र शनिबारसम्म अलैँची प्रतिमन ९१ हजार रुपियाँले कारोबार भएको थियो । एक दिनपछि अलैँचीको मूल्य दुई हजार रुपियाँले वृद्धि भई प्रतिमन ९३ हजार रुपियाँले कारोबार भइरहेको स्थानीय व्यवसायीले बताएका छन् ।
दसैँअघिसम्म प्रतिमन ८० हजार रुपियाँले कारोबार भएको अलैँचीको मूल्य दसैँलगत्तै बढ्न थालेको हो । तिहारसम्म आइपुग्दा १० हजारले मूल्यवृद्धि भई प्रतिमन ९० हजार रुपियाँले कारोबार भएको थियो । फुङलिङ बजारका व्यवसायी कमल बरालका अनुसार तिहार सकिएलगत्तै अलैँचीको मूल्य अझ बढ्दै गएको छ । दसैँपछि क्रमशः बढ्न थालेको अलैँचीको मूल्य तिहार सकिएपछि पनि निरन्तर उकालो लागेको फुङलिङ बजारकै अलैँची व्यवसायी भद्रवीर रेग्मीले बताउनुभयो ।
ताप्लेजुङस्थित अर्लैँची व्यवसायी सङ्घका अध्यक्षसमेत रहनुभएका व्यवसायी रेग्मीले आइतबारको कारोबार मूल्य यस वर्षकै उच्च भएको बताउनु्भयो । उहाँका अनुसार फुङलिङ बजारमा साधारण अर्थात् चलनचल्तीको अलैँची मनको ९३ हजार रुपियाँमा धमाधम कारोबार भइरहेको छ ।
यता अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यवसायी भने उत्साहित बनिरहेका छन् । भदौदेखि अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेको र बजारमा आउन थाल्दा प्रतिमन ८८ हजार रुपियाँले अलैँचीको कारोबार भएको थियो । भदौभर ८८ हजार रुपियाँ प्रतिमनमा कारोबार भएको अलैँची असोज लागेपछि मूल्य घट्न थालेको थियो ।
अहिले अलैँचीको मूल्य निरन्तर बढिरहे पनि मूल्य बढ्ने र घट्ने कुनै टुङ्गो नहुने स्थानीय व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारका आधारमा नेपाली बजारमा अलैँचीको कारोबार हुने भएकाले मूल्य घटबढ भइरहने पनि स्थानीय व्यवसायी बताउँछन् ।










