09/26/2025, 12:08:46
शुक्रबार, असोज १०, २०८२

ट्रम्पद्वारा टिकटक खरिद-बिक्रीसम्बन्धी कार्यकारी आदेश जारी

टिकटक अब पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा रहनेछ


काठमाडौँ, असोज १० : अमेरिकी र केही अन्तर्राष्ट्रिय लगानीकर्ताले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्ने आदेशमा उल्लेख छ । यसो गर्दा अमेरिकाले भनेजस्तै ‘राष्ट्रिय सुरक्षाको नियम’ पूरा हुने र अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षित रहने विश्वास गरिएको छ।

टिकटकको अमेरिकी इकाइको मूल्य करिब १४ अर्ब डलर हुने उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । यो मूल्याङ्कन बजार विश्लेषकहरूले अनुमान गरेको भन्दा कम हो । ‘चिनियाँ पक्षबाट केही प्रतिरोध देखियो तर हाम्रो मुख्य चाहना टिकटक सञ्चालनमै राख्ने र कानुनले तोकेबमोजिम अमेरिकी प्रयोगकर्ताको डेटा गोपनीयता सुनिश्चित गर्ने हो,’ भान्सले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।

राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२४ को कानुन अन्तर्गत टिकटक प्रतिबन्ध लगाउने समयसीमा २०२५ जनवरी २० सम्मका लागि सारिएको जानकारी दिए । यसबीचमा चिनियाँ कम्पनी बाइटडान्सबाट अमेरिकी सम्पत्ति छुट्याउने, अमेरिकी तथा अन्य लगानीकर्ता भित्र्याउने र चिनियाँ सरकारबाट अनुमति लिनुपर्नेछ ।

ट्रम्पको आदेशअनुसार टिकटकको अल्गोरिदम अमेरिकी संयुक्त लगानीमा बन्ने नयाँ कम्पनीको नियन्त्रणमा राखिनेछ । त्यसलाई सुरक्षासम्बन्धि अमेरिकी विशेषज्ञहरूले निगरानी गर्नेछन् र पुन: ट्रेन गर्नेछन् ताकि अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षित रहोस् र चीनले त्यसमा हस्तक्षेप गर्न नपाओस् ।

ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँग यसबारे छलफल भएको दाबी गरेका छन् । ‘हामीबीच राम्रो कुरा भयो, मैले योजना सुनाएँ, उनले अघि बढाउन भनेका छन्,’ ट्रम्पको भनाइ । यस विषयमा वाशिङटनस्थित चिनियाँ दूतावासले भने प्रतिक्रिया दिएको छैन । टिकटक वा बाइटडान्सले पनि प्रतिक्रिया दिएको छैन ।

अमेरिकामा १७ करोड प्रयोगकर्ता भएको टिकटकलाई ट्रम्पले आफ्नो चुनावी जितमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका छन् । उनको व्यक्तिगत टिकटक खातामा १ करोड ५० लाख फलोअर छन् भने ह्वाइट हाउसले हालै आधिकारिक टिकटक खाता शुरु गरेको छ ।

टिकटक अब पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा रहनेछ,’ ट्रम्पले भनेका छन् । उनले डेल टेक्नोलोजीजका संस्थापक माइकल डेल, फक्स न्युज र न्युज करका संस्थापक रूपर्ट मर्डकलगायत पाँचजना ‘विश्वस्तरीय लगानीकर्ता’ खरिद सम्झौतामा सहभागी हुने बताएका छन् । ओराकल र इक्विटी कम्पनी, सिल्भर लेकले ‘टिकटक यूएस’मा करिब ५० प्रतिशत हिस्सेदारी लिने भनिएको छ । बाइटडान्सका विद्यमान लगानीकर्ताले करिब ३० प्रतिशत स्वामित्व राख्न पाउनेछन् । त्यसमा सुस्क्वेहाना इन्टरनेशनल ग्रुप, जनरल अटलान्टिक र केकेआरजस्ता कम्पनीहरू छन् ।

बाइटडान्सले हालै मात्र आफ्ना कर्मचारीसँग भएको टिकटकको शेयर फिर्ता किन्ने योजना (सेयर बाइब्याक प्रोग्राम) मा यसको कुल बजार मूल्य ३३० अर्ब डलर तोकेको थियो । विश्लेषक ड्यान आइभ्सका अनुसार अल्गोरिदमबिना टिकटकको मूल्य गत अप्रिलमा ३० देखि ४० अर्ब डलर हुने अनुमान गरेका थिए । टिकटकको भिडियो सिफारिस गर्ने प्रणाली वा अल्गोरिदम निकै शक्तीशाली मानिन्छ ।