10/17/2025, 16:19:20
शुक्रबार, कार्तिक ०१, २०८२

ओमानमा साइबर ठगीमा संलग्न २० जना नेपालीलाई डिपोर्ट


काठमाडौँ, ३१ असोज : ओमानले साइबर ठगी गतिविधिमा संलग्न भएका एक महिलासहित १९ जना नेपाली डिपोर्ट गरेको छ। जसमध्ये ११ जनालाई बिहीबार नेपाल पठाइसकेको छ । ७ जना सोमबार पठाउँदैछ । दुई जनाको भने उडान तय भइसकेको छैन । रोयल ओमान प्रहरीबाट उनीहरूलाई गत मार्च १० गते ओमानको सोहरबाट पक्राउ गरिएको थियो ।

स्थानीय अदालतले ६ महिना कैद र तीन सय ओमानी रियाल जरिवाना लगाएको थियो । दुई जनालाई भने ६ महिना कैद र ६ सय रियाल जरिवाना लगाएको हो । अनुसन्धानका क्रममा उनीहरूलाई विभिन्न डिजिटल माध्यम प्रयोग गरी नक्कली रोजगारी, अनलाइन लगानी र सामाजिक सञ्जालमार्फत पैसा ठग्ने कार्यमा प्रयोग गरिएको बताइएको छ । रायल ओमान प्रहरीले अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा उक्त सञ्जाललाई पछ्याउँदै पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ठगी समूहले नक्कली बैंक वेबसाइट, रोम्यान्स च्याट एप, र क्रिप्टो ट्रेडिङ प्लेटफर्महरूमार्फत खाडीमा बस्ने नेपालीसहित एशियाली नागरिकहरूलाई लक्षित गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले ओमान प्रवेशपछि उनीहरूको पासपोर्ट र कागजात खोसिएको र तिनलाई अनलाइन ग्राहक सेवा वा लगानी परामर्शादाताको नाममा नक्कली वेबसाइट तथा च्याट एपमार्फत ठगी गतिविधि गर्न तालिम दिइएको थियो ।

मस्कटस्थित नेपाली दुतावास र गैरआवासीय नेपाली सोसल क्लव, ओमानले कैद भुक्तानी हुने बित्तिकै आवश्यक समन्वय गरी नेपाल पठाउन सहजीकरण गरेको हो । उनीहरूलाई राखिएको जेल राजधानी मस्कटबाट तीन सय किमी टाढा शोहरमा पर्छ ।

सुरुमा मान्छे हरायो भनेर परिवारबाट हामीलाई सर्म्पक गरेको थियो । हामीले खोजतलास गर्न थाल्यौ। उनीहरू सोहारको जेलमा रहेछ । उनीहरू भिजिट भिसामा दुबईमा आएका रहेछन्,’ एनआरएनए नेपाली सोसल क्लवका अध्यक्ष सुरेश खड्काले भने, ‘दुबईबाट एउटा चाइनीज कम्पनीले भिजिट भिसामा काम गर्न ओमान ल्याएको रहेछ । यहा ठगी गर्ने एउटा नेटवर्किङ कम्पनी रहेछ । उनीहरू त्यस्तो कम्पनीमा परेछन् । त्यही वेला प्रहरीले छापा मार्दा २० जना नेपाली सहित दुई सय ५७ जनालाई पक्राउ गरेको थियो ।

सोहरमा कार्यरत क्ववका केन्द्रीय सदस्य देवान खड्काले मस्कटमा रहेका दुतावास, परिवार र जेलभित्र रहेका नेपालीबीच समन्वय गरेका थिए । ‘२० जनाको परिवारसँग पूर्णविच्छेद थियो । मैले जेलमा टेलिफोनको कार्डहरू पुर्‍याइदिने गरेका थिए । यसले नियमित रुपमा परिवारसँग सर्म्पक भयो । जेल र दुतावासबीच आवश्यक समन्वय गर्न सहयोग गरे,’ खड्काले भने ।