सोमबार, पुष २२, २०८१

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ : अध्यक्ष प्रचण्ड


काठमाडौँ, २० पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले परिवर्तित राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताउनुभयो ।

विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ”, अध्यक्ष दाहालले भन्नुभयो, “अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखापर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धनमार्फत स्वरोजगर र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।

अध्यक्ष दाहालले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रका रूपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत्, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रूपान्तरणकारी क्षेत्रका रूपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण सुरुआत हो ।

संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उहाँले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुकमा व्यावसायिक वातावरण बनाउन दलहरू आरोप प्रत्यारोपमा उत्रनुभन्दा एकताबद्ध भएर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उद्योगी, व्यवसायीलाई दुःख दिने कार्य कसैले पनि गर्न नहुनेमा जोड दिँदै उहाँले व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न समितिका तर्फबाट आफूले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

माओवादी केन्द्रका नेता एवं सांसद माधव सापकोटाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै व्यवसायीले भोग्दै आएका चुनौतीलाई समाधान गर्न सम्पूर्ण राजनीतिक दल एकठाउँमा उभिनुपर्ने बताउनुभयो । कार्यक्रममा महासङ्घमा रहेर व्यावसायिक क्षेत्रमा विशिष्ट योगदान गरेबापत कुसुम महर्जन, लक्ष्मी खड्का र अञ्जु चाम्लिङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading