शनिबार, पुष २०, २०८१

एमपक्स नियन्त्रणका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा विमानस्थलमा आकस्मिक बैठक


काठमाडौँ, १७ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे सम्बन्धित अधिकारीसँग छलफल गर्नुभएको छ ।

उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिनका लागि आग्रह गर्नुभएको हो । अहिले मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।

मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीसहित अधिकारीलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । “तपाईंहरूलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौँ”, उहाँले भन्नुभयो, “केही समस्या परे भन्नुहोला ।

हाल साउदी अरेबियाबाट आएका दुई नेपाली नागरिकमा सङ्क्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरूवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।  मन्त्री पौडेलले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरूवा रोग नियन्त्रण अस्पताल र सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्रालयले विमानस्थलबाट बाहिरिएका शङ्कास्पद बिरामीको सम्पर्क ट्रेसिङका अलावा फर्कनेहरूलाई एमपक्सबारे सचेतना विमानस्थलमा रहेको हेल्थ डेस्कबाट फैलाइरहेको छ । बिरामीको टेकुस्थित सरूवा नियन्त्रण अस्पतालमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले साउदी अरेबियाबाट सङ्क्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले मन्त्रालयले एमपक्स नियन्त्रणका लागि अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading