10/26/2025, 20:56:02
आइतबार, कार्तिक १०, २०८२

बिपीको मेलमिलाप नीतिलाई राष्ट्रियता र विकाससँग जोड्नुपर्छ : मुख्यमन्त्री तामाङ


त्रिशूली (नुवाकोट), १६ पुस : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री बिपी कोइरालाको मेलमिलाप नीतिलाई राष्ट्रियता र विकाससँग जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस नुवाकोट, अभिलेख शाखाको आयोजनामा मङ्गलबार बट्टारमा आयोजित ‘राजद्रोही राजनेता’ प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले बिपीले अपनाउनुभएको मेलमिलापको नीतिअन्तर्गत समाजवादले आर्थिक समानतामा जोड दिएको बताउनुभयो ।

राजद्रोह सम्बन्धी विभिन्न आठवटा मुद्दाको सामना गरिरहेको समयमा बिपीले आफूसहित सहकर्मीहरूलाई भारतबाट नेपाल फर्काउनु उहाँको राष्ट्रियताप्रतिको उच्च सम्मान पाइन्छ”, मुख्यमन्त्री तामाङले भन्नुभयो, “कांग्रेसले अपनाउँदै आएको आर्थिक सिद्धान्तको नीति पनि बिपीको समाजवाद हो समृद्धिको निर्माण, असमानताको अन्त्य र व्यक्तिको स्वतन्त्रताको ग्यारेण्टीमा केन्द्रित गराउँछ ।

राजद्रोहको अभियोग लगाएको समयमा मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्कनुलाई बिपीले जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र र राष्ट्रियताप्रतिको महत्त्व देखाउनुभएको थियो । अहिलेका युवापिँढीमा यही (महत्त्व) बुझाउन सके देशमा परिवर्तन (विकास) गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस नुवाकोटको ‘एकसय दिने विशेष अभियान’ अन्तर्गत राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा महामानव बिपी कोइरालाको जीवनीमा आधारित रहेको वृत्तचित्र ‘राजद्रोही राजनेता’को प्रदर्शनी गरिएको अभिलेख शाखाका संयोजक नारायणप्रसाद नेपालले जानकारी दिनुभयो ।

उक्त प्रदर्शनीको अवलोकन गर्न कांग्रेस नुवाकोटको सभापति रमेशकुमार महतसहित जिल्ला कार्यसमितिका पदाधिकारी, भ्रातृसंस्थाका पदाधिकारीलगायतको सहभागिता थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..