शनिबार, पुष २०, २०८१

उत्तगरगयाधाम वेत्रावती : हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र


त्रिशूली (नुवाकोट), १६ पुसः पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिनुभयो ।

उहाँको अनुसार धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावती (उत्तरगया)मा दिवङ्गत पितृको चीरशान्तिको कामनासहित जौँको पिण्ड बनाई तर्पण, सिदादान र पिण्डदान गर्न हिन्दू र बौद्ध धर्मावलम्बीहरू सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो ।

सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट बगेको जलबाट निर्मित बेत्रगङ्गा र रुद्रगङ्गा तथा त्यसभन्दा दूरमा रहेको नीलाद्री पर्वतमा त्रिशूल खोप्दा निस्किएको जल बगेको त्रिशूली नदीको भेट भएको त्रिवेणीधाम उत्तगरगया पवित्र तीर्थस्थल हो”, अध्यक्ष ड¬ङ्गोलले भन्नुभयो, “वेत्रावती उत्तरगयाधाम हिन्दू धर्मावलम्वीको प्रमुख चारधाममध्येको मुख्य र नेपालमा रहेको एकमात्र धामका रूपमा पुज्ने गरिन्छ ।

दक्षिणायनको अन्तिम औँसीका रूपमा रहेको पौष कृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवङ्गत व्यक्तिको बैकुण्ठमा बास हुने, जीवनमा जानअन्जानमा भएका गल्ती क्षमा हुने र मृत्युपरान्त मोक्ष पाउने धार्मिक विश्वास छ । धर्मशास्त्र अनुसार चार गयामध्ये तीनगया भारतमा पर्छ भने नेपालमा पर्ने उत्तरगयाधाम वेत्रावती हिन्दू र बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिन्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुअघि उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू र बौद्धमार्गी अनुयायीको आस्था जोडिएको छ । सोही तथ्य हिमवत् खण्डमा समेत उल्लेख रहेको ओखलढुङ्गाबाट श्राद्ध गर्न वेत्रावती आउनुभएका पण्डित लोकाथ उपाध्यायले बताउनुभयो ।

उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष र अन्यथा जीवनमा एकपटक भए पनि पिण्ड तर्पण गर्नुपर्छ भन्ने विश्वासमा ङो (श्राद्ध) गर्न आएको धुनिबेँसी नगरपालिका–१ धादिङका ज्ञानबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार तामाङ साुमदायमा दिवगङ्त व्यक्तिको पुण्य, आत्मको चीरशान्ति तथा केही बाधा अड्चन भएमा तथा स्वर्गलोक पुग्न बाँकी भएमा त्यसको क्षमाका लागि बौद्धमार्गीहरूले ङो गर्ने गरिएको छ ।

पवित्र नदी त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading