04/10/2025, 22:38:50

चितवनमा चिसोले बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह


चितवन, १५ पुसः चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।

मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार आफ्नो विभागमा दैनिक आउने बिरामीमध्ये २० प्रतिशत चिसोका समस्या भएर आउने गरेका छन् । उहाँले भन्नुभयो, “चिसोका कारण रुघा, खोकी, ज्वरो, दम बढ्ने, घाँटी दुख्नेजस्ता समस्याका बिरामी बढेका छन् ।

मुटुको समस्या र उच्च रक्तचापका बिरामीले चिसोमा हिँड्न उचित नहुने उहाँको भनाइ छ । हिँड्नै परेमा न्यानो कपडा लगाउने, नाक, मुख, टाउको घाँटी छोपेर, हातमा पन्जा लगाएर हिँड्दा उत्तम हुने उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमराज पौडेल अस्पतालमा उपचारका लागि आएका बालबालिकामध्ये ७० प्रतिशतमा चिसोको समस्या देखिएको बताउनुहुन्छ । चिसोका कारण बालबालिकामा रुघा, खोकी, निमोनिया, छालाको समस्या बढी देखिएको उहाँले बताउनुभयो ।

यसैगरी जोर्नी दुखाइका बिरामीको सङ्ख्या पनि अस्पतालमा बढेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले पछिल्लो समय जोर्नीको दुखाइ, रुघाखोकी, ज्वरो, दम, छालाका समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस्ता बिरामी कम हुने समय हो, तर अहिले चिसोका कारण यस्तो समस्या लिएर आउने बिरामीको सङ्ख्या वृद्धि भएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..