सोमबार, पुष ०८, २०८१

वैदेशिक रोजगारीबाट फर्किएका युवा राष्ट्र निर्माणमा सहभागी हुनुपर्नेमा श्रममन्त्री भण्डारीको जोड


पाटन (ललितपुर), ४ पुसः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवा राष्ट्र निर्माणमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२४ का अवसरमा पौरखी नेपाल र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भण्डारीले विदेशबाट फर्केका श्रमिकले त्यहाँ आर्जेको सीप र पुँजी उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

वैदेशिक रोजगारमा काम गरेर फर्कँदा उहाँहरुले केही न केही ज्ञान, सीप, संस्कार र लगनशीलता सिक्नुभएको हुन्छ, श्रम र समयको मूल्य बुझ्नु भएको हुन्छ, उहाँहरुमा भएको सीप, क्षमता र दक्षतालाई प्रयोगमा ल्याउनु आवश्यक छ, मुलुकको विकासमा उपयोग गर्नुपर्छ ।

उहाँले आगामी दिनमा वैदेशिक रोजगारीमा जानेलाई भाषा, सीप र ज्ञान सिकेर जाने वातावरण बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले रोजगारदाता, तालिम केन्द्र र वित्तीय क्षेत्रलाई एकै ठाउँमा जोड्ने आफूहरुले प्रयन्त गरेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले वैदेशिक रोजगारी बाध्यता र परिस्थितिजन्य अवस्था भएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने घरेलुु श्रमिक महिलालाई सहज बाटोबाट जाने व्यवस्था नगर्दा समस्या आएको बताउनुभयो । उहाँले कामलाई घृणा गर्नेभन्दा सम्मान गर्नुपर्ने उल्लेख गर्दै गृह श्रमिकलाई सामाजिक सुरक्षा जोड्न आवश्यक रहेको बताउनुभयो ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चीरञ्जीवी बरालले वैदेशिक रोजगारीबाट फर्किएकालाई नेपालमा काम गर्न समस्या भएको बताउनुभयो । उहाँले व्यवसाय दर्ता गरेर नियमसङ्गत काम गर्दा प्राविधिक सहयोग, बजार व्यवस्थापन, उत्पादनको उचित मूल्य पाउन सक्ने अवस्था नहुँदा निरुत्साहित हुनु परिरहेको गुनासो गर्नुभयो ।

सरोकारवालाहरुले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारी सृजना गर्दा कर छुट दिनुपर्ने, उद्यम सञ्चालनका विनाधितो ऋण प्रवाहको व्यवस्थापन गरिनुपर्ने, अनुदान दिने प्रणालीलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

आप्रवासी श्रमिकहरुको अधिकारलाई कानुनी तथा व्यावहारिक रुपमा सुनिश्चित गर्न हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै आएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading