१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ । यही पुस १८ गतेदेखि सुरु हुने दोस्रो चरणको लिगमा त्रिभुवन आर्मी एफसी र बागमति युथ क्लबबीच पहिलो खेल हुनेछ ।
महिला लिगको अन्तिम चरणका खेलहरु डबल राउण्ड रोविनका आधारमा हुनेछ । जसमा पहिलो चरणको लिगबाट छनोट भएर आएका ५ क्लबले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगमा कूल २० खेल हुनेछ । त्यसपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्लेअफमा क्वालिफायर र एलिमिनेटर गरी ४ खेल हुनेछ । दोस्रो चरणमा लिगमा पहिलो र दोस्रो हुनेबीच क्वालिफायर वान हुनेछ । यस्तै तेस्रो र चौथो हुनेबीच एलिमिनेटर हुनेछ । क्वालिफायर वानको विजेता सिधै फाइनल प्रवेश गर्नेछ । क्वालिफायर वानको पराजित टोली र एलिमिनेटरको विजेताबीच क्वालिफायर टु हुनेछ र दुवै क्वालिफायरको विजेताबीच फाइनल खेल माघ १६ गते हुनेछ ।
पहिलो चरणको लिगबाट शीर्ष पाँचमा रहेका तीन विभागीय टोली एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसँगै स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेशले दोस्रो चरणका लागि स्थान पक्का गरेका थिए । तर कोशी प्रदेशले आर्थिक कारण देखाउँदै दोस्रो चरणमा सहभागिता नजनाउने निर्णय गरेपछि एन्फाले पहिलो चरणमा छैटौं भएको सर्लाहीको बागमती युवा क्लबलाई खेलाउने भएको छ ।
यी ६ बाहेक यसअघि राष्ट्रिय महिला लिगको पहिलो चरणमा रौतहटको चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तथा संकटा क्लब गरी १० टिमले प्रतिस्पर्धा गरेका थिए ।