मङ्गलबार, पुष ०९, २०८१

कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने ट्रम्पको घोषणा


४ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिको जोडिएको सिमानालाई व्यवस्थित बनाउने बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका छन् । त्यसमा लेखेका छन्,  ‘नवनिर्वाचित राष्ट्रपति राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ ।’  पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गरेका छन् ।

गत नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए । उनले अध्यागमन र भन्सार प्रवर्तनका पूर्वकार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’ को रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेट घोषणा गरेका छन् ।

गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उनले समर्थकहरूलाई भनेका थिए, ‘मैले लाखौं अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका, उनीहरूलाई फिर्ता पठाइनेछ ।

अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन् । ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको आरोप लगाएका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटक–पटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाएका थिए । ट्रम्पले आफ्नो आप्रवासन कारबाहीको बारेमा विस्तृत विवरण दिएका छैनन् । तर आफ्नो चुनावी अभियानको क्रममा बारम्बार निर्वासनलाई गति दिन ‘एलियन एनिमिज एक्ट १७९८’ लागू गर्ने बताएका थिए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading