२३ कात्तिक, काठमाडौं । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताएका हुन् ।
एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताए । उनले अगाडि भने, ‘प्रशासनसँग ठूलो मात्रामा आप्रवासीलाई निर्वासन गर्ने योजनाको विकल्पै छैन ।’
चुनावी अभियानको क्रममा ट्रम्पले लाखौं अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेका थिए । उनले राज्यका सबै तहका निकायहरू परिचालन गरेर अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने र देशबाट निकाल्ने ‘मास डिपोर्टेसन प्लान्स’ अगाडि सारेका थिए । ट्रम्पले आफ्नो आप्रवासन नीतिकै कारण चुनावमा विजयी भएको उल्लेख गरे । उनले यो चुनावमा आफ्ना अभियानले धेरै थरीका मतदातालाई आकर्षित गरेको बताए ।
उनले सीमालाई बलियो र शक्तिशाली बनाउने र सँगसँगै अमेरिकामा मानिसहरू आइरहने वातावरण पनि बनाउने बताए । ‘तपाईंलाई थाहा छ कि म त्यस्तो व्यक्ति होइन जसले तपाईं अमेरिका आउन सक्नुहुन्न भनोस्, हामी मानिसहरू यहाँ आऊन् भन्ने चाहन्छौं,’ उनले भने, ‘जब मानिसहरूले हत्या र हत्याका घटनाहरू गरेका छन्, जब लागूऔषध मालिकहरूले देशहरू ध्वस्त बनाएका छन्, अब तिनीहरू ती देशहरूमा फर्कनेछन् किनकि उनीहरू यहाँ बस्ने छैनन्।’
चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मान-जनक भएको उनले जानकारी गराए ।