सोमबार, पुष ०८, २०८१

हिमाली जिल्ला बेनी बजारमा पनि छठ पर्व मनाइयो


२२ कात्तिक, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् ।

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । उनीहरुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

नुहाइ धुवाई शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आउनुभएका सञ्जय ठाकुरले बताउनुभयो । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अर्घ्य चढाएका थिए ।

उनीहरुले ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।

म्याग्दीमा विस २०७७ देखि छठ मनाउन सुरु गरिएको हो । सरकारले २०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading