२१ कात्तिक, काठमाडौं । तिहारको अवसर पारेर लक्ष्मीपूजाको दिन (१५ गते) बाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेको छ । फिल्मले रिलिजको ६ दिनमा ७ करोड बढी व्यवसाय गर्दै यसअघिका व्यवसायको रेकर्ड तोड्ने बाटोमा देखिएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको ५ दिने कमाइ भनेर सोमबारसम्मको व्यवसाय ४ करोड ८७ लाख ग्रस कमाइ भनेर सार्वजनिक गरेको थियो । फिल्मले मङ्गलवार मात्रै दुई करोड बढी व्यवसाय गरेको वितरक ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले बताए ।
उनका अनुसार फिल्मले अहिलेसम्म ७ करोड बढी व्यवसाय गरिसकेको छ । फिल्मले आज बुधवार समेत २ करोडको व्यवसाय गर्ने अनुमान राठीको रहेको छ । ‘फिल्मले दिन प्रतिदिन नसोचेको व्यवसाय गरिरहेको छ’, राठीले भने, ‘यसको व्यावसायिक रफ्तार हेर्ने हो भने अहिलेसम्म नेपाली फिल्मले बनाएको सबै रेकर्ड तोड्छ ।’ सुरुमा थोरै शोबाट सुरु भएको फिल्मले अहिले अत्यधिक शो पाउँदा पनि दर्शक थेप्न नसकिरहेको राठीको भनाई छ ।
फिल्मको अहिलेसम्मको कलेक्सनमा काठमाडौँ टेरिटोरीको ५२ प्रतिशत र मोफसलको ४८ प्रतिशत योगदान छ । प्रदर्शनको पहिलो दिन बिहीबार कमजोर व्यवसाय गरेको फिल्मको ‘वर्ड अफ माउथ’ को कारण व्यवसाय राम्रो हुँदै गएको हो । १ करोड ३० लाख निर्माण भएको फिल्मले अहिले २०० भन्दा धेरै शो पाइरहेको छ । शोको हिसावले पनि यो फिल्मको उच्च मानिन्छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले मङ्गलवार नै फिल्मलाई सुपरहिटको मान्यता दिइसकेको छ । मङ्गलवारदेखि नै यो फिल्म जापानमा पनि रिलिज भएको छ । फिल्मले जापानमा पनि राम्रो शो पाइरहेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मको निर्देशक सरोज पौडेल हुन् । फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।