१४ कात्तिक, काठमाडौं । अमेरिकामा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्ना प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका शासक किम जोङ उनको आलोचना गरेकी छन्।
बीबीसीका अनुसार वर्तमान उपराष्ट्रपतिसमेत रहेकी ह्यारिसले चुनावी भाषण गर्दै पुटिन र किमजस्ता तानाशाहले मात्र अमेरिकामा पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले जितेको हेर्न चाहने टिप्पणी गरेका हुन्।
ह्यारिसले भनिन्, ‘अमेरिका विश्वमा स्वतन्त्रताको च्याम्पियन रहिरहोस् भनेर म सुनिश्चित गर्नेछु। हामीले माया गरेको देशको लागि लडौँ।’
साथै उनले अब बाँकी ७ दिनमा पाना पल्टाउन र अहिलेसम्म भनिएका कथाको अर्को उत्कृष्ट अध्याय लेख्न लागि आफूहरूसँग पर्याप्त शक्ति रहेको दाबी पनि गरिन्। अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपति चुन्ने चुनाव हुँदै छ।