काठमाडौँ, पुस १० गते । उच्चस्तरीय राजनीतिक संवाद समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी कार्यालयमा शीर्ष नेतृत्वलाई भेटेर चुनावी तयारी अवस्थाबारे छलफल गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं संवाद समितिका संयोजक अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालले बुधबार तीन वटा पार्टी कार्यालयमा पुगेर पार्टीका नेतृत्वसहित पदाधिकारीसँग यसबारे छलफल गर्नुभएको हो ।
मन्त्री खरेलले सरकारले एक पक्षीय र बहुपक्षीय छलफल गर्दा चुनावी वातावरण राम्रो भए पनि थप सबै पार्टी कार्यालयमा पुगेर छलफल गर्दा राम्रो सन्देश गएको बताउनुभयो । प्रमुख पार्टीका कार्यालयमा भेटघाट गर्दा निर्वाचनको वातावरण झन् बनेको आभास भएको बताउँदै मन्त्री खरेलले भन्नुभयो, “सबै दलका शीर्ष नेताहरूका भेटघाटबाट उत्साहित भएका छौँ । सरकारलाई बल पुगेको छ । अब मुलुक निर्वाचनको महोत्सवमा गएको छ । महायज्ञमा अघि बढेको छ । फागुन २१ गते निर्वाचन हुन्छ । यो सन्देश सर्वत्र दिन आग्रह गर्दछु ।”
मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन मुख्य दलको कार्यालयमा जानु पर्छ भनेर नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा, जनमत पार्टीको कार्यालयमा गएर निर्वाचनको वातावरण बनाउन कोसिस गरेको बताउनुभयो । “रास्वपाको कार्यालयमा प्रस्ताव गरिएको फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा महत्वपूर्ण छलफल भयो । जेन-जीको जगमा बनेको सरकारका एजेन्डा फागुन २१ गतेको निर्वाचन, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको काम भइरहेका छन्,” उहाँले भन्नुभयो, “निर्वाचनको मिति तोकिएलगत्तै रास्वपाले निर्वाचनमा जानु पर्छ भनेर स्पष्ट सन्देश दिएको थियो । अहिले पनि त्यही अडानमा छ । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पदाधिकारीमार्फत सरकारले जे जसरी निर्वाचनको तयारी गरेको छ, त्यसको उच्च प्रशंसा गर्छु भन्नु भयो ।”
मन्त्री खरेलले प्रधानमन्त्री र आफ्नो मुख्य कार्यभार निर्वाचन गराउने भएकाले निर्वाचनमा उम्मेदवार हुने नसोचेको प्रस्ट पार्नुभयो । उहाँले आगामी फागुन २१ गते निर्वाचन गर्नु पर्छ भनेर रास्वपाको घण्टी बजाएकाले अन्यथा नलिन आग्रह गर्नुभयो । मन्त्री खरेलले जनमत पार्टीले चुनावको तयारी गरेको देखेपछि खुसी लागेको बताउनुभयो । मन्त्री सिन्हाले रास्वपा, राप्रपा र जनमत पार्टी कार्यालयमा पुगेर छलफल गर्दा चुनावी तयारीको स्पष्ट सन्देश पाएको बताउनुभयो ।

“हामी रास्वपासहित जनमत पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयमा पुग्यौँ । सबैले हामीलाई जुन तरिकाले व्यवहार गर्नुभयो, त्यसका निम्ति आभार व्यक्त गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “सबै स्पष्ट रूपमा राखेका छौँ । दलहरूमा चुनावबाहेक अरू विकल्प छैन भन्ने भएको छ । दलहरूका कुनै शङ्का भए मेटिएका छन् ।” उहाँले सबै दलका नेताले फागुन २१ गतेको निर्वाचनको विकल्प नरहेको सन्देश दिएको बताउनुभयो ।
मन्त्री सिन्हाले चुनावको सुरक्षासहित लजिस्टिक कुरा उठेको भए पनि सबै व्यवस्थित बनाएर निष्पक्ष चुनाव हुने प्रस्ट पार्नुभयो । रास्वपाका प्रवक्ता मनीष झाले मन्त्रीसहित संवाद समितिसँग चुनवी तयारीका विषयमा महìवपूर्ण छलफल भएको बताउनुभयो । उहाँले चुनावी सुरक्षालगायत अन्य प्राविधिक तयारीका विषयमा सरकारको ध्यानाकषर्ण गराएको बताउनुभयो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले आगामी फागुन २१ गतेको निर्वाचनमा जान कुनै संशय नरहेको बताउनुभयो । “हामीले निर्वाचनमा जान सुरुमै निर्णय गरेको हौँ । त्यसका लागि सबै तयारी गरी सकिएको छ,” उहाँले भन्नुभयो, “मेचीदेखि महाकालीसम्म अभियान चलाइसकेका छौँ । अब समानुपातिक सूची तयार गर्दै छौँ । निर्वाचनको तयारी सबै भइसकेको छ ।” सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरिसकेकाले संसद् पुनस्र्थापनामा जान नहुने तर्क पनि उहाँले गर्नुभयो । राप्रपाका नेता राजेन्द्र गुरुङले निर्वाचन तयारीका विषयमा मन्त्रीहरूले पार्टी कार्यालयमा भेटघाट गरेर राजनीतिक संस्कार देखाएकोमा खुसी व्यक्त गर्नुभयो ।
‘अदालतमा चालिस वटा भ्रष्टाचारका ठुला मुद्दा’
यसै गरी मन्त्री खरेलले निर्वाचनसँगै सरकार भ्रष्टाचार नियन्त्रणमा पनि केन्द्रित भएर काम गरेको बताउनुभएको छ । सरकारको एक सय दिन नपुग्दै ४० वटा भ्रष्टाचारका ठुला मुद्दा अदालत पुगिसकेको पनि उहाँले जानकारी दिनुभयो । नेसनल प्रेस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले भन्नुभयो, “विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई प्रभाव र दबाब हुन्थ्यो । अहिले यो सरकारले ती निकायहरूलाई कुनै दबाब र प्रभावमा पारेको छैन । हस्तक्षेप गरेको छैन ।”
मन्त्री खरेलले राष्ट्रिय सतर्कता केन्द्र, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले स्वतन्त्र ढङ्गले काम गरिरहेको चर्चा गर्नुभयो । कुनै हस्तक्षेप र दबाबबिना स्वतन्त्र निकायले काम गर्दा त्यसको परिणाम पनि राम्रो हुने उहाँले बताउनुभयो । मन्त्री खरेलले सरकार निर्वाचनमा केन्द्रित भइरहेको र फागुन २१ मै चुनाव हुने बताउनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख राजनीतिक दलका प्रमुख नेताहरू चुनावमा जाने सहमति गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल सरकारले कहिल्यै बन्द नगर्ने पनि उहाँले प्रस्ट पार्नुभयो ।
– वीरेन्द्र ओली
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














