12/23/2025, 11:13:41
मङ्गलबार, पुष ०८, २०८२

कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण


महेन्द्रनगर, पुस ७ गते । कञ्चनपुर कारागार घटनापछि आज बेलुकी कारागारका नाइकेसहित १३ कैदी अन्यत्र स्थानान्तरण गरिएको छ ।

गत शुक्रबार कैदीबन्दीले नाइके चौकीदारले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गरेको र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएर विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो ।

कञ्चनपुरका प्रहरी प्रमुख खडक खत्रीले यहाँको कारागारबाट कारागारका नाइके प्रकाश मल्लसहित १३ जना कैदीलाई दाङ र नेपालगञ्ज कारागारमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।

कैदीबन्दी र नाइकेबीचको विवादपछिको झडपमा आठ जना कैदीबन्दी घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ ।  कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरा  र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् । घटनाको विस्तृत छानबिनपछि समितिले प्रतिवेदन पेस गर्नेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..