02/13/2026, 00:41:50
बिहिबार, माघ २९, २०८२

बोलाइयो सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको कार्यव्यवस्था समितिको बैठक


धनगढी, पुस ७ गते । गत भदौ २३ र २४ गते भएको जेन-जी समूहको आन्दोलनपछि स्थगित रहेको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सञ्चालन हुने देखिएको छ ।

प्रदेश सभा सचिवालयले बैठक सञ्चालनका लागि तयारी थालिसकेको छ । प्रदेश सभा सञ्चालनकै लागि छलफल गर्नका लागि सभामुख भीमबहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सोमबारका लागि बोलाएको समितिको बैठकमा बैठक सञ्चालन विषयका साथै प्रदेश सभामा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने विषयमा छलफल हुने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो । सभामुख भण्डारीले बजेट अधिवेशन अन्त्य गरेर हिउँदे अधिवेशन चलाउनका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव गर्नुभएको छ ।

यद्यपि त्यस विषयमा निर्णय भइसकेको छैन । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदेश सभामा आगजनी र तोडफोड गरेपछि अधिवेशन स्थगित भएको थियो । अधिवेशन अन्त्यका लागि सभाको बैठक नै बस्नुपर्ने अनिवार्य नरहेको जनाउँदै सचिव बोगटीले भन्नुभयो, “प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेर प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गर्न सक्छ । प्रदेश प्रमुखले अधिवेशन अन्त्यको पत्र प्रदेश सभा सचिवालयमा पठाएमा सूचना टाँस गरेर अधिवेशन अन्त्यको जानकारी दिन सकिन्छ ।

सभामुखले बजेट अधिवेशन अन्त्य गरेर हिउँदे अधिवेशनमा अगाडि बढ्दा राम्रो हुने धारणा राख्नुभएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । हिउँदे अधिवेशनलाई विधेयक पारित गरी ऐन, कानुन निर्माण गर्ने अधिवेशनका रूपमा लिने गरिन्छ । सचिवालयका अनुसार प्रदेश सभा भवनमा अब प्राविधिक सामग्री जडान र कुर्सी राख्ने कार्य बाँकी रहेको छ । सम्पूर्ण काम चाँडै सम्पन्न गरेर पुस १० गतेसम्म प्रदेश सभाको बैठक सञ्चालन गर्न सकिने सचिव बोगटीले जानकारी दिनुभयो ।