ललितपुर, पुस ३ : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ ।
अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राख्नुभयो ।
युवापुस्ता जेन-जीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उहाँले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिनुभयो ।
“गएको तीन महिनामा १० प्रतिशतको हाराहारीमा राजस्व वृद्धि भएको छ । उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ, अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर चिनियाँ लगानीकर्ताले प्रशंसा गरिरहनुभएको छ”, अर्थमन्त्री खनालले भन्नुभयो । मन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा रहेको तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले येजनाबद्ध काम गरिरहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले गोरखापत्रले गरिरहेको कामले ज्ञानको दायरा बढाउने बताउँदै पुराना पत्रिका अध्यायन अनुसन्धानका लागि अर्थविद्हरू प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताउँदै उहाँले सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेकामा जोड दिनुभयो । गभर्नर डा.पौडेलले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले समाचारका साथसाथै बहसको माध्यमबाट नेपाली अर्थतन्त्रमा देखिएको रिक्तता पूर्ति गर्दै चुनौतीलाई चिर्न र आशाको सञ्चार गर्न यो बहस आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार नेपालको आर्थिक पुनरुत्थान, लगानीको वातावरण बनाउन र भविष्यका विकास, रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकार भएका निकायका प्रतिनिधिबीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले संस्थानले पहिलोपटक ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एण्ड रिजिलेन्स’ शीर्षकमा कार्यक्रम आयोजना गरेको हो ।
पहिलोपटक भइरहेको यस डिस्कोर्समा ‘स्मार्ट पूर्वाधारः विकास र व्यवस्थापन’, ‘कस्तो मनोबलरु’ र ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ विषयमा शीर्षकगत तीन वटा छलफलसत्र हुँदैछन् । गोरखापत्र विसं १९५८ मा प्रकाशन सुरु भएको नेपालको पहिलो समाचारपत्र हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













