12/12/2025, 18:35:05
शुक्रबार, मङि्सर २६, २०८२

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ


काठमाडौँ, मङ्सिर २६ : नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा ४ नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

शुक्रबार मन्त्री बन्नेहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

शुक्रबार मन्त्री बन्नेमध्ये इङ्नाम अधिवक्ता हुन् । त्यस्तै चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन् । उनले कर्णालीबारे ‘सपादलक्ष कर्णाली‘ नामक पुस्तक लेखेका छन् । त्यस्तै भण्डारी पूर्वएआईजी र श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।