12/11/2025, 18:34:05
बिहिबार, मङि्सर २५, २०८२

दाङमा बस दुर्घटना : २२ जना यात्रु घाइते


घोराही, मङ्सिर २५ : दाङमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते हुनुभएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो ।

बिहीबार बिहान करिब ३ बजे बस दुर्घटनामा परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा २२ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाएको छ । घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । २२ जना घाइतेलाई उपारका लागि लमही अस्पताल लगिएको छ । जसमध्ये दुई जनालाई थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो । बस दुर्घटनाका कारण के हो भनेर अनुसन्धान पनि भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिनुभएको छ ।

बसमा ३८ जना सवार थिए । प्रहरी निरीक्षक पाण्डेयका अनुसार पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयानका क्रममा बस चालकले बयान दिएका छन् ।

– लीलाधर वली