12/10/2025, 05:14:10
मङ्गलबार, मङि्सर २३, २०८२

‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’


काठमाडौँ, मङ्सिर २३ : प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहनुभएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गर्नुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो। भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो।

भेटमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शान्तिपूर्ण वातावरणमा निर्वाचनका लागि शुभकामना दिनुभएको थियो। उहाँले भन्नुभयो, “जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ, हाम्रो शुभकामना छ।

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही मङ्सिर १६ गते ९५ वर्षको उमेरमा निधन भएको थियो।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको र ती भ्रामक रहेकाबारे प्रधानमन्त्री कार्कीलाई स्पष्ट गर्नुभएको जनाइएको छ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..