12/09/2025, 15:56:12
मङ्गलबार, मङि्सर २३, २०८२

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की


काठमाडौँ, मङ्सिर २३ : प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेन-जी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरुले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताउनुभएको हो ।

जेन-जीका माग र अपेक्षा बमोजिमका आशातित उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्नेछैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

उहाँले यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्ष रुपमा धम्क्याए पनि आफूहरु नडराउने बताउनुभयो । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरुलाई पनि कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..