11/24/2025, 09:19:40
सोमबार, मङि्सर ०८, २०८२

सूर्यविनायक–धुलिखेल सडक निर्माण : पचास प्रतिशत सम्पन्न


काठमाडौँ, मङ्सिर ८ गते । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको आधा काम सम्पन्न भएको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको १५.८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्न दुई प्याकेजमा काम भइरहेको सो आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

यस अन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत पुगेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडकखण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । अहिले दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ । विसं २०७९ पुस २४ गते दुई खण्डमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

काम सम्पन्न गर्न आग्रह

यसैबिच ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी असारभित्र काम सम्पन्न हुने गरी कामलाई तीव्रता दिन सम्बन्धित सबैसँग आग्रह गर्नुभयो ।

आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्ण रूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उहाँले उल्लेख गर्नुभयो । निर्माण प्रगतिबारे जानकारी लिँदै उहाँले निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी अहिले काम गर्ने उपयुक्त मौसम रहेकाले निर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाले करिब चार अर्ब रुपियाँ थप बजेट माग गरेकोमा आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सो अवसरमा मन्त्री घिसिङले बनेपा नगरपालिकाका नगरप्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

जिम्मेवारी पूरा नगर्दा राष्ट्रलाई नोक्सान

यसैबिच मन्त्री घिसिङले निर्माण व्यवसायीले ठेक्काको काम नगर्दा र कर्मचारीले जिम्मेवारीको निर्णय समयमै नगर्दा राज्यले ठुलो नोक्सानी बेहोर्नु परेको बताउनुभएको छ ।

आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट प्राप्त रोजगारी सिर्जना, उत्पादकत्व, कुल गार्हस्थ उत्पादनमा योगदान जस्ता लाभ प्राप्त हुन नसकेको उहाँले उल्लेख गनुभयो । नेपाल इन्जिनियरिङ परिषद्द्वारा आइतबार ललितपुरमा आयोजित इन्जिनियरहरूको प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री घिसिङले त्यस्तो बताउनुभएको हो । पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता देखाउन नसक्दा र समयमै निर्णय नगर्दा आयोजना कार्यान्वयनमा जटिलता देखिएको उहाँको भनाइ थियो ।

मन्त्री घिसिङले भन्नुभयो, “धेरै आयोजनामा काम नहुने निर्माण व्यवसायीका कारणले मात्र नभएर आयोजनाका तर्फबाट गर्नुपर्ने निर्णय समयमै नहुँदा पनि समस्या देखिएको छ । निर्णय नै गर्न नखोज्ने र गर्नै परे पनि डराउने प्रवृत्ति छ । इन्जिनियर कमजोर बन्दा ठेक्का सम्झौता प्रभावित हुने देखिएको छ । ठेक्का व्यवस्थापन र नेतृत्वमा रहेकाले कानुनी रूपमा पुष्टि हुने गरी शीघ्र निर्णय गर्नु पर्छ ।