11/19/2025, 09:53:42
बुधबार, मङि्सर ०३, २०८२

एनपीएल हेर्न आएका दर्शकसँग त्रिविको जग्गामा पार्किङ शुल्क असुल्दै कीर्तिपुर समाज


काठमाडौँ, मङ्सिर ३ — कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न पुगेका दर्शकसँग कीर्तिपुर समाजका नाममा अनधिकृत रूपमा पार्किङ शुल्क असुलेको पाइएको छ ।

एनपीएलका लागि त्रिविको जग्गा, सार्वजनिक स्थल र सडक आसपास निःशुल्क पार्किङको व्यवस्था गरिएको भए पनि समाजले युवाहरूलाई खटाएर सोमबारदेखि नै प्रतिमोटरसाइकल एक सय र प्रतिगाडी १ सय ५० को दरले शुल्क उठाइरहेको छ । ‘कीर्तिपुर विकास समाज कीर्तिपुर– ११ काठमाडौं’ लेखेको रसिद लिएर युवाहरू पार्किङ स्थलमा शुल्क उठाउन खटिएका छन् । ‘संकलित रकम भदौ २३ र २४ को प्रदर्शनमा क्षति भएका सार्वजनिक संरचनाहरू मर्मत तथा पुनर्निर्माण कार्यमा खर्च गरिनेछ । तर सवारीसाधनको सुरक्षाको जिम्मेवारी सवारी धनी स्वयंको हुनेछ,’ रसिदमा लेखिएको छ ।

त्यहाँ खटिएका युवाले कीर्तिपुर नगरपालिकाका मेयरको निर्देशनमा पार्किङ शुल्क उठाएको बताए । मेयर कृष्णमान डंगोलले शुल्क उठाउन निर्देशन नदिए पनि सरसल्लाहचाहिँ भएको स्वीकार गरे । ‘स्थानीय युवाले पार्किङ शुल्क उठाएर आन्दोलनमा जलेको वडा कार्यालय भवन बनाउँछु भनेका छन् । मैले राजस्व कार्यालय र नगरपालिकामा संस्था दर्ता गरेर काम गर भनेको थिएँ । म बाहिर छु के भयो थाहा छैन,’ उनले भने । नीति, नियममा बसेर शुल्क उठाउन भने पनि दर्ता भए/नभएको विषयमा जानकारी नभएको मेयर डंगोलले जनाए ।

विश्वविद्यालयको जग्गामा मोटरसाइकल, गाडी लगायत सवारीसाधन पार्किङ गरेको शुल्क उठाएको भन्दै दर्शकहरूले आलोचना गरेका छन् । त्रिविका प्राध्यापक, कर्मचारी र विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।

काठमाडौं प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले पार्किङका विषयमा जानकार रहे पनि उजुरी र गुनासो नआएको बताए । ‘स्थानीयले उपकुलपति र रजिस्ट्रारसँग मौखिक सहमति लिएर पार्किङको शुल्क उठाएको भन्ने जानकारी आएको छ । यदि अनुमति नलिई अनधिकृत रूपमा उठाइएको रहेछ भने हामी कारबाही गर्छौं,’ भट्टराईले भने । त्रिवि उपकुलपति दीपक अर्यालले पार्किङ शुल्कका विषयमा जानकारी नभएको बताए । ‘पार्किङ शुल्क उठाउने विषयमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) र नगरपालिकासँग कुनै कुराकानी पनि भएको छैन,’ उनले भने ।

गत वर्ष पनि त्रिवि केन्द्रीय क्याम्पस स्ववियु र आयुर्वेद क्याम्पस कीर्तिपुर स्ववियुले एनपीएल हेर्न आएका दर्शकसँग पार्किङ शुल्क उठाएको थियो । तर, आलोचना भएपछि शुल्क उठाउन स्थगित गरिएको थियो । २०५९ मा नेपाल क्रिकेट संघ (क्यान) ले त्रिविसँग सम्झौता गरेर क्रिकेट मैदान प्रयोग गर्दै आएको छ । सम्झौता २०८३ वैशाख मसान्तसम्म बाँकी छ ।

क्यानले मैदान भाडामा लिए पनि त्यसमा पूर्वाधार निर्माणलगायतका काममा सरकारले पनि सघाउँदै आएको छ । क्यानले जग्गा भाडाबापत ६ लाख, छात्रवृत्तिका लागि २ लाख र त्रिवि खेलकुदका लागि १ लाख गरी वार्षिक ९ लाख त्रिविलाई बुझाउँदै आएको छ । यसको अतिरिक्त त्रिवि विद्यार्थी कल्याण र केन्द्रीय क्याम्पस स्ववियुले क्यानसँग २५ लाख चन्दा लिने सम्झौता भएको छ ।