३० असोज, काठमाडौं । लैङ्गिक अल्पसङ्ख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ । समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन् ।
यसवर्षदेखि फिल्म मार्केट पनि सुरु गर्न लागेको तस्बिर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको छ । तस्बिर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन्। उनले यस फेस्टिभललाई ओस्कार योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रूपमा हेर्दै फिल्म निर्माताहरूका लागि यो महत्त्वपूर्ण अवसर हुने बताएकी छन् ।

फिल्म ’गुन्युचोलो’ मा नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । यो भूमिका नेपाली सिनेमा जगतमा एक साहसी प्रयासको रूपमा हेरिएको छ । फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यो फिल्म भट्टको दोस्रो निर्देशकीय फिचर हो । यसअघि उनले ’आधा पेज’ निर्देशन गरेकी थिइन्।
नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। २०२४ कै बहुप्रतीक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी छिन्।

चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् । आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । फिल्मलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिइन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










