10/28/2025, 15:18:30
मङ्गलबार, कार्तिक १२, २०८२

बङ्गालको खाडीमा उठेको समुद्री आँधीबारे आईएमडीले दियो यस्तो चेतावनी


नयाँ दिल्ली । समुद्री आँधी मोन्था मंगलबार अरु शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने चेतावनी भारतको मौसम विभाग (आईएमडी)ले दिएको छ । मोन्था यतिबेला हाल बङ्गालको खाडीमा सक्रिय छ । यसले तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्ने बताइएको छ ।

आँधी मंगलबार आन्ध्र प्रदेशको तट पार गर्ने अपेक्षा गरिएको छ । यसैबीच आईएमडीले आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा अलर्ट जारी गरेको छ ।

‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनम बिचको तट पार गर्न सक्छ’ आईएमडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति अनुसार त्यतिबेला हावाको गति ९०/१०० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ । मोन्थाको प्रभावका कारण अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको विभागले सोमबारै भनेको थियो ।

समुद्री आँधीलाई विचार गरेर भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले सोमबार आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पुडुचेरी र अण्डमान र निकोबार टापुका पार्टी एकाइहरूलाई मोन्थाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै राहत र सहायता कार्यका लागि पूर्ण रूपमा तयार रहन निर्देशन दिएका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..