10/06/2025, 10:46:21
सोमबार, असोज २०, २०८२

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर


काठमाडौँ , असोज २० : चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई ध्यानमा राखी निर्माण टिमले चलचित्र प्रदर्शन मिति हेरफेर गरेको हो । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कात्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ ।

चलचित्रका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिनुभएको हो । दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ । उहाँले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका हलमा प्रदर्शन गरिने छ । यसका साथै भारत र विश्वका विभिन्न देशमा समेत कात्तिक २१ देखि यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । यसले चलचित्रलाई बृहत् दर्शकमाझ पु¥याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर बाङ्देल लगायतका कलाकार मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रको निर्देशन सुशान्त गौतमले गर्नुभएको हो भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहनुभएको छ । चलचित्रमा मुकेश खनालको लेखन छ ।