२२ असोज, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । दशैं अगाडि सेयर बजार खुल्ने दिन अब एक दिन मात्र बाँकी छ । त्यसको अघिललो दिन मंगलबार सेयर बजारमा गिरावट आएको हो । यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार परिसूचक नेप्से मंगलबार भने २७.३९ अंक (१.०१ प्रतिशत) ले गिरावट भएर २६६३.३२ को बिन्दुमा बन्द भएको छ । बजार परिसूचक सँगै कारोबार रकममा पनि गिरावट भएको छ । सोमबार ७ अर्बको कारोबार भएको बजारमा मंगलबार कारोबार घटेर साढे ४ अर्बमा झरेको छ । ४५ हजार ८७० वटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारको कारोबार भएको छ ।
मंगलबार म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक २.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.९३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.३६ प्रतिशतले गिरावट भएको छ । मंगलबार नेप्सेमा साढे ४ अर्ब माथिको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको २७ करोड १८ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्सको २३ करोड ९७ लाखको सेयर किनबेच हुँदा हिमालयन रि–इन्स्योरेन्सको १३ करोड ७७ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २४४ सूचीकृत धितोपत्रको किनबेच हुँदा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।
यस्तै ३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ । मंगलबार कारोबार भएकामध्ये मिड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै बुटवल पावर कम्पनीको ६.८३ प्रतिशत, मान्डु हाइड्रोपावरको ६.३१ प्रतिशतले सेयर मूल्य बढेको हो । यता इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.५० प्रतिशतले गिरावट हुँदा बुद्धभूमि हाइड्रोपावरको ७.२४ प्रतिशत, नेपाल फाइनान्सको ६.९८ प्रतिशत, बोटलर्स नेपाल तराईको ५.८८ प्रतिशत र कालिञ्चोक दर्शनको सेयर मूल्य ५.५ प्रतिशतले गिरावट भएको हो ।