म्याग्दी, असोज १८ : कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने भएको छ । अविरल वर्षाका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीले शनिबार देखि २० गते सोमबार सम्म साँझ ५ बजेदेखि विहान ६ बजेसम्म यातायात बन्द गर्ने भएको हो ।
देशभर भारी वर्षाको प्रक्षेपण गरिएकाले जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले सम्भावित बाढीपहिरोका कारण बेनी–जोमसोम सडकमा यात्रा जोखिमपूर्ण हुने भएकाले रातको समयमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो । सडकको म्याग्दी खण्डमा कम्तीमा पनि १० वटा ठूला पहिराहरु छन् । वर्षातका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गर्दछ ।
बाढीपहिरोको जोखिम रहेको सडकखण्ड अन्तरगत पाँच बजेभित्र छिमेकी जिल्ला मुस्ताङको सिमानमा रहेको घाँसा प्रवेश नगर्ने म्याग्दी खण्डमै रोकिने छ भने मुस्ताङबाट आउने सवारीसाधनलाई समेत ५ बजेपछि म्याग्दीतर्फ प्रवेशमा रोक लगाउने निर्णय भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो । उहाँका अनुसार असोज २१ गतेदेखि सडक नियमित रुपमा सञ्चालनमा आउने छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरोसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले पदयात्राका लागि आर्कषक गन्तब्य मानिएको उत्तरी म्याग्दीको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर,घोडेपानी, खोप्रा लगायतका क्षेत्रमा क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरिएको प्रजिअ तिवारीले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै यस किसिमको सूचना जारी गरिएको हो ।
प्रशासनले विशेषगरी यात्रा गर्नु अगाडी मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न, विपद्को जोखिम भए तत्काल पूर्वतयारीमा जुट्न, सञ्चारका उपकरण तयारी, अधिक बर्षा हुने समय अवधिभरलाई कम्तिमा तीन दिनसम्मका लागि खाद्यान्न ब्यवस्थापन गर्न,पदयात्रामा निस्किएकालाई सूचना दिन, स्थानीय तहले पूर्व तयारी तथा आपतकालिन उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्स सहित सवारीसाधनलाई समेत तयारी अवस्थामा राख्न समेत निर्देशन दिइएको छ ।
– ठाकुरप्रसाद आचार्य