10/01/2025, 12:20:57
बुधबार, असोज १५, २०८२

गाउँघरमा हराउँदै छ घर पोत्ने चलन


पाख्रीबास (धनकुटा), असोज १५ गते । विगतका बर्षझैं नेपालीहरुको चाडपर्व सुरु भएको छ । दसैंमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन भए पनि पछिल्लो समय हराउँदैगएको छ ।

आधुनिक शैलिमा सिमेन्ट, कंक्रिटबाट निर्माण गरिएका घरहरुमा रङरोगन लगाउन थालेपछि घरपोत्ने प्रचलन हराउँदै गएको हो । दसैमा नयाँ लुगा लगाउने, मिठो खाने तथा मान्यजनबाट आशीर्वाद लिने गरिन्छ ।

दसैं सुरु हुनुअगावै अथवा सुरु भएपश्चात् आ–आफ्नो घर सिंगार्ने, लिपपोत गर्ने काम सुरुमा गर्ने प्रचलन परापूर्वकालदेखि चलिआएको थियो । त्यसो त परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएको घरमा ती वस्तुको प्रयोग हुने गर्दथ्यो ।

पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो, कमेरोले रंगाउने चलन हराउँदै गएको पाइन्छ । केही वर्ष अघिसम्म दसैंअघि धनकुटामा घर रंगाउन चिम्ट्याइलो र रातो माटो भएका ठाउँमा गई माटो लिएर आउने गर्दथे । पछिल्लो समय यस्ता माटोले लिपपोत गरेपछि घर चिटिक्क हुने घर देखिन छोडेका छन् ।

पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग बढेको निलबहादुर थापाले बताउनुभयो । दसैं आउनु अगाडि रातो माटो र कमेरो माटोले घरको भित्ता रंगाउन प्रयोग गरिन्थ्यो । यस्तै, खोटो पकाएर झ्याल ढोकामा लगाउने गरिन्थ्यो । विशेषगरी छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ ।

धनकुटा ज्ञानबहादुर थापाले भन्नुभयो, “सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाएपछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने, रातो र कमेरो माटोले घर पोत्नु पथ्र्याे, सबै हराउँदै गयो ।

विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दसैं तिहारसँगै जोडिएको संस्कृतिको अर्को पाटोजस्तै बनेको भए पनि आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने त्यसको ज्ञान हुन छाडेको छ ।

– सन्तोष सुवेदी