जुम्ला, असोज ७ : जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिएको छ । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा राखिएको छ भने भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै कपडा फेरिएको हो । बाँकी दुई वटा लिङ्गोमा ४२ देखि ४५ हातसम्मका रहेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
मन्दिरमा लिङ्गो उभ्याइसकेपछि जुम्लीले आआफ्नो घरमा घटस्थापना गरेका छन् । मन्दिरमा ५२ हातको लिङ्गो र ५२ हातको ध्वजा र नेजा राख्ने चलन रहेको उहाँको भनाइ छ । प्रत्येक वर्ष घटस्थापनाको दिनमा पुराना लिङ्गो निकालेर नयाँ उभ्याउने प्रचलन रहेको थापाले जानकारी दिनुभयो । तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएको र १४९८ सालबाट यो मन्दिरमा लिङ्गो उभ्याउने परम्परा रहेको उहाँले बताउनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो उभ्याइएको हो । लिङ्गो उभ्याइसकेपछि मात्र जुम्ला बजार र आसपासका गाउँमा घटस्थापना गर्ने चलन छ । घटस्थापनामा पुरानो लिङ्गो ढाल्ने र नयाँ लिङ्गो उभ्याउने गरिएको थापाले बताउनुभयो । नजिकैको जङ्गलबाट सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयले जङ्गलबाट खलङ्गामा रहेको चन्दननाथ मन्दिरमा त्रयोदशीका दिन लिङ्गो ल्याएका थिए ।
यसै दिनमा जुम्लावासीले नयाँ अन्न अर्थात् न्वागी खाने गर्छन् भने धान पनि घटस्थापनाकै दिनदेखि काट्न सुरु गरिन्छ । जुम्लामा मार्सी धान भित्र्याउने चन्दननाथलाई चढाएपछि घरका सबै सदस्य एकै ठाउँमा जम्मा भएर न्वागी खाने गर्छन् ।
घटस्थापनाकै दिन उत्पादन वृद्धि होस्, भोकमरी नहोस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सी धानको सिक चढाउनेसमेत परम्परा रहेको स्थानीय पूर्णशेखर देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाबा चन्दननाथले आफ्नै बलबुतामा मार्सी धानको बिउ पत्ता लगाएर विस्तारका लागि आफ्ना बलशाली शिष्य लछालकृति पैकेलोलाई खटाएका थिए । मार्सी धानको प्रयोग सफल भएपछि बाबा चन्दननाथको सम्मानस्वरूप लिङ्गो खडा गर्ने रित बसालिएको हो ।”
उहाँका अनुसार लछालकृति पैकेलोले तातोपानी–२ मा पर्ने गुरु फोक्टो नामक खेतमा पहिलो पटक मार्सी खेती सुरु गर्नुभएको थियो । त्यो सफल भएपछि जस चन्दननाथ बाबालाई गयो । जसका कारण जुम्ली किसानले आफूले खानुभन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने परम्परा बसेको हो । मन्दिरमा सिक दिने परम्पराले बिउ जोगाउने काम पनि गरेको उहाँको भनाइ छ । जुम्लामा बडीमालिका जानेदेखि घटस्थापनामा मन्दिरको लिङ्गो फेर्ने अनुपम संस्कृति रहेको उहाँले बताउनुभयो । धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण जुम्लाको विकासमा राज्यले लगानी बढाउनुपर्ने उहाँको सुझाव छ ।
घटस्थापनाको लिङ्गो खडा गर्ने ठाउँमा पुग्दा आफूले चिताएको पूरा हुने भन्दै मन्दिरमा हजारौँ भक्तजनको भिड हुन्छ । घटस्थापनाकै दिन जुम्लाका घर घरमा जौका जमरा राख्ने चलन छ भने साँझ नयाँ फलेको मार्सी धानको चिउरा कुटेर दही, महसँग मिसेर न्वागी बनाई घरपरिवार तथा बिहे गरेकी छोरीचेलीलाई बोलाएर खुवाउने चलन छ ।