09/18/2025, 16:26:45
बिहिबार, असोज ०२, २०८२

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा


काठमाडौं, असोज २  : अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् ।

नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित सबै काम कारबाही समयमा नै सचिवालयमा बुझाउँदा सचिवालयले फुटसलको लागि कुनैपनि बजेट विनियोजन नगरेको कारण प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भएको पनि बताएका छन् ।

नेपाललाई १० हजार डलर जरिवाना र अर्को पटकको छनोटमा समेत भाग लिन नपाउने गरी कारवाही गरिएको हुनाले यस्तो गैरजिम्मेवार सचिवालय अन्तर्गत पदमा रहेर काम गर्न नसकिने हुनाले आजको मितिबाट लागु हुने गरी राजीनामा दिएको महर्जनले स्पष्ट पारेका छन् ।

नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेपछि एन्फा जरिवानाको कारबाहीमा परेको हो । पहिलो एन्फाले सहभागीता जनाउने निर्णय सहित नाम दर्ता गराएको थियो । तर प्रतियोगिता सुरु हुनु १ सय ६ दिन अगाडि नाम फिर्ता लिएको थियो । यही कारण एएफसीको अनुशासन र आचारसंहिता कमिटिले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । अगस्ट २१ गते भने सो कमिटीले यो निर्णय गरेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..