काठमाडौँ, असोज १ : सरकारी सभा सम्मेलनका लागि भनेर बनाइएको गोदावरीस्थित सनराइज हल ध्वस्त भएको छ । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा उक्त हल ध्वस्त भएको छ । आगजनीपछि हलको छत नै खसेको छ । त्यस्तै हलमा लगाइएका सिसाहरू फुटेका छन् भने अन्य संरचना पनि ध्वस्त भएका छन् ।
सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र झन्डै ८१ करोड रूपैयाँ खर्चेर निर्माण गरिएको थियो । २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको शिलन्यास गरेका थिए र २०७८ वैशाख ३१ गते उद्घाटन गरेका थिए । सनराइज सम्मेलन केन्द्रलाई ३ हजार बढी मान्छे अटाउने बनाइएको थियो ।
यही हलमा भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको विधान महाधिवेशन गरिएको थियो । सरकारी संरचना भए पनि ओलीले उद्घाटन गरेको र कार्यक्रम गरेकै बहानामा यसलाई निसाना बनाइएको हो ।
सनराइज सभाहल २०७८ असारदेखि ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति’ मार्फत सञ्चालनमा थियो । सभाहलकै लागि मुआब्जा दिएर लिइएको जग्गामध्ये १ सय रोपनी १ आना ३ पैसा जग्गा अतिक्रमणमा परेको छ ।