नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र नेताहरूको योगदान मेट्ने प्रयास गरिएको बताएका छन् । उनले भदौ २४ गते प्रदर्शनकारीहरूले जलाएका घरहरूको अवलोकन गर्दै यस्तो भनेका हुन् ।
सिंहले भने, ‘आन्दोलनकै क्रममा विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने । यसले के देखाएको छ भने जेनजी आन्दोलनको कभरअपमा दलका योगदानलाई मेट्नको लागि दुष्प्रयास गरिएको छ ।’
उनले आगलागी र तोडफोड भएका घटनाहरूको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए । ‘लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ, तर त्यो भूमिका निमोठ्न खोजिएको छ’, उनले थपे, ‘यो डेमोक्रेसीमा दलहरूको भूमिका महत्त्वपूर्ण छ। समयको मागबमोजिम दलहरूलाई संस्थागत गरेर अघि बढ्नुपर्छ ।’
सिंहले जलाएको र तोडफोड गरेको घटनामा सरकारलाई सजग रहने आग्रह गरे । ‘राज्यविरुद्ध दुष्प्रयास गरिएको छ । जलाएर केही हुने होइन। शून्यताबाट कसैले केही गर्न सक्दैन,’ उनले भने ।
आन्दोलनमा बाह्य तत्वहरूको घुसपैठ भएको बारेमा पनि उनले चेतावनी दिए । ‘यसमा राम्रोसँग छानविन गर्नुपर्छ र डेमोक्रेटिक प्रक्रियाहरूमा संलग्न रहेकाहरूलाई पहिचान गरेर सरकार अलर्ट हुनुपर्छ,’ उनले जोड दिए ।