काठमाडौँ, असोज १ : नेपाल आदिवासी जनजाति महासङ्घले ‘जेन-जी’ प्रतिनिधिसँग छलफल गरेका छन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीका अनुसार बुधबार ‘जेन-जी’ का प्रतिनिधिसँग आगामी योजना, आदिवासी जनजातिको अधिकार एवम् संविधानले सुनिश्चित गरेका अधिकार लगायतका विषयमा छलफल भएको छ ।
उहाँले भन्नुभयो, “आदिवासी जनजातिको अधिकार, आगामी दिनमा कसरी अगाडि बढ्ने, संविधानमा सुनिश्चित भएका अधिकार खोसिन सक्ने चिन्ता छ । २१ जना आदिवासी जनजाति युवाले सहादत प्राप्त गर्नुभएको छ ।”
वर्तमान सत्ता समीकरणमा आदिवासी युवाको नेतृत्व समावेश हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको सत्ता समीकरण समावेशी छैन । आदिवासी युवा पुस्तालाई बेवास्ता गरियो भने विद्रोह हुन सक्छ । वर्तमान परिवर्तनले आदिवासी जनजातिको अधिकार समावेश गर्नुपर्छ ।”
बैठकमा महासङ्घका अध्यक्ष गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, महासचिव दिवस राई लगायत सहभागी हुनुहुन्थ्यो । यसैगरी, ‘जेन-जी’ का तर्फबाट सामना लाओती, पेमा वाङ्बो, श्रेया सिङ, अनुरोध घर्ती लगायतका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो।