भदौ २४, काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन-जी समूहले नै अब देशको नेतृत्व गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मेयर बालेनले सेना प्रमुखसँग समेत वार्ताका लागि तयार हुन आग्रह गरेका छन् ।
त्यस्तै वार्ताअघि संसद् विघटन हुनुपर्ने पनि बालेनले बताएका छन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् – वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ,’ बालेनले लेखेका छन् ।
ओलीको राजीनामा आइसकेकाले संयमित हुन जेन-जी समूहलाई आग्रह गरेका छन् । फेसबुक पोस्टमा बालेनले देशको जनधन सबैको सम्पत्ति भएको पनि बताएका छन् ।
प्रधानमन्त्रीको राजीनामा आइसकेकाले संयमित हुन जरुरी रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘अब संयमित हुनुहोला ! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।‘